
काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगलाई लामो समयदेखि रोकिएको परीक्षा नतिजा शीघ्र सार्वजनिक गर्न आदेश दिएको छ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणीका पदका लागि भएको परीक्षाको प्रक्रिया पूरा भइसकेकाले अन्तिम नतिजा प्रकाशनमा अनावश्यक ढिलाइ नगर्न आदेश दिएको हो।
मनबहादुर थापासहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
निवेदकहरूले प्रशासन सेवा, सामान्य प्रशासन समूहका पाँचवटा विज्ञापनअन्तर्गतको परीक्षासम्बन्धी सबै प्रक्रिया पूरा भइसके पनि नतिजा सार्वजनिक हुन ढिलाइ भएको भन्दै अदालतमा रिट दायर गरेका थिए।
सम्बन्धित विज्ञापनमध्ये खुलातर्फ १६६७९, महिलातर्फ १६६८०, आदिवासी जनजातितर्फ १६६८१, मधेशीतर्फ १६६८२ र अपाङ्गतातर्फ १६६८३ नम्बरका विज्ञापन रहेका छन्।
निवेदकहरूले परीक्षाको सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको र आफूहरूको योग्यता समाप्त भइसकेको भन्ने अवस्था नरहेको दाबी गर्दै नतिजा छिटो सार्वजनिक गर्न आदेश माग गरेका थिए।
रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले परीक्षा प्रक्रिया पूरा भइसकेको अवस्थामा नतिजा प्रकाशनमा ढिलाइ नगर्न लोकसेवा आयोगका नाममा आदेश जारी गरेको हो।







Facebook Comments