
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको ‘डीप डिप्रेसन’ पश्चिमतर्फ अघि बढिरहेको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली बुधबार रातिसम्म भारतको आन्ध्र प्रदेश र ओडिशाबीचको तटीय क्षेत्रमा पुग्ने सम्भावना छ।
बुधबार बिहान ५ः३० बजेको विवरणअनुसार उक्त प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा रहेको थियो। पछिल्लो ६ घण्टामा करिब १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ सरेको जनाइएको छ।
मौसम विभागका अनुसार ‘डीप डिप्रेसन’ कलिङ्गपट्टनम आसपासबाट तट पार गर्ने सम्भावना छ। समुद्रमा विकसित हुने कम वायुमण्डलीय चापको शक्तिशाली अवस्थालाई ‘डीप डिप्रेसन’ भनिन्छ, जसले तीव्र हावा र वर्षा निम्त्याउन सक्छ।
यसैबीच, भारतका विभिन्न राज्यमा पनि मौसम प्रतिकूल हुने पूर्वानुमान गरिएको छ। मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको सम्भावना रहेको भन्दै चेतावनी जारी गरिएको छ।
बिहारका ३८ वटै जिल्लामा वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पहेँलो सतर्कता अपनाउन भनिएको छ।
उता, राजस्थानमा भने वर्षा रोकिएसँगै तापक्रम बढेको छ। जेसलमेरमा तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ भने बीकानेर र बाडमेरमा पनि ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ।
मौसम विभागले राजस्थानमा आगामी चारदेखि पाँच दिन मौसम मुख्यतः सुक्खा रहने र तापक्रम थप बढ्न सक्ने अनुमान गरेको छ।







Facebook Comments