
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण काभ्रे, नुवाकोट, रसुवा र धादिङ जोड्ने मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू गम्भीर रूपमा प्रभावित भएका छन्।
नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार बाढीको जोखिम र पहिरोका कारण केही स्थानमा सडक पूर्ण रूपमा ठप्प बनेको छ भने कतिपय खण्डमा रात्रिकालीन आवागमनमा रोक लगाइएको छ।
बाढीको उच्च जोखिमका कारण काभ्रेस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार सो क्षेत्रमा साँझदेखि बिहानसम्मको मौसमी अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ।
यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घेचेटखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेकाले अर्को सूचना नभएसम्मका लागि राति १० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको छ।
उता नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ भने रसुवाका मुख्य राजमार्गका विभिन्न स्थानमा आएको बाढीले यातायात सेवा थप्प भएको छ।
यसै गरी धादिङस्थित पृथ्वी लोकमार्गको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजार क्षेत्रमा खसेको पहिरो हटाई सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
मौसम पूर्वानुमान अनुसार अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पहिरो र सडकको अवस्था बुझेर तथा आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न नेपाल प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।









Facebook Comments