काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैँ बनाएको मापदण्ड उल्लंघन गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै शाहीले परराष्ट्र मन्त्रालयले बनाएको मापदण्ड पढेर सुनाउँदै राजदूतका लागि अयोग्य ठहरिने व्यक्तिलाई समेत सरकारले नियुक्त गरेको बताए । 

ad

अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैरसरकारी संस्थामा कार्यरत हुन नहुने र विदेशी राज्यद्वारा तलब सहितको पदमा नियुक्ति भएको भए उक्त पद छाडेको १० वर्ष हुनुपर्ने मापदण्ड मिचिएको शाहीको आरोप छ । 
उनले भने–अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा अक्सफाम एसियाली क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गरेका व्यक्ति हुन्, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन विश्व बैंक अन्तर्गतको आइएफसीमा कार्यरत रहेको उल्लेख छ। जर्मनीका लागि प्रस्तावित शारू जोशीले युएन वुमन लगायतका अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन् । ओमानका लागि प्रस्तावित पद्माक्षी राणाको पृष्ठभूमि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँगको सहकार्यमा केन्द्रित देखिन्छ। दक्षिण कोरियाका लागि प्रस्तावित डा. संगम श्रेष्ठले एसिया इन्टिच्युट अफ टेक्नोलोजी लगायतका अन्तर्राष्ट्रिय शैक्षिक तथा विकास संस्थासँग काम गरेका छन्।

के आपत्ति आइलाग्यो, आफैँले बनाएको मापदण्ड आफैँले लागु गर्न नसक्ने ? शाहीको प्रश्न थियो । उनले राजदूत नियुक्तिमा विदेशीको दबाब र अर्बौंको चलखेल भएको आशंका पनि व्यक्त गरे ।