
नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बनेका नागरिकहरूका लागि बेल्जियमस्थित 'नेपाली समुदाय ओष्टण्ड'ले १३ हजार ४ सय ३५ युरो (करिब १९ लाख रुपैयाँभन्दा बढी) राहत रकम नेपाल पठाएको छ।
ओष्टण्डमा बसोबास गर्ने नेपालीहरूको सक्रियतामा संकलन गरिएको उक्त रकम KBC बैंक बेल्जियममार्फत नेपालको राष्ट्रिय वाणिज्य बैंकमा रहेको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'को आधिकारिक खातामा जम्मा गरिएको हो। विपद्को यस कठिन घडीमा आफ्नो मातृभूमिको उद्धार र राहतका लागि ऐक्यबद्धता जनाउँदै पठाइएको यो रकम पूर्ण रूपमा पारदर्शी र जिम्मेवार ढंगले सम्बन्धित कोषमा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
नेपाली समुदाय ओष्टण्डका अध्यक्ष धर्म पाठक तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूको तर्फबाट जारी वक्तव्यमा यस मानवीय अभियानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा जोडिएर सहयोग पुर्याउने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति आभार व्यक्त गरिएको छ।
प्रवासमा रहेर पनि देशमा परेको दुःख र सङ्कटमा सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै समुदायले संकलित सहयोग सही ठाउँमा पुर्याउने आफ्नो जिम्मेवारी पूरा गरेको बताएको छ। ओष्टण्डवासी नेपालीहरूको यो सहयोगले बाढीपहिरो पीडितहरूको राहत तथा पुनर्स्थापनामा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।









Facebook Comments