काठमाडौं । रसुवामा आएको बाढीका क्रममा बेपत्ता भएका पत्रकार टेकराज थामीको खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

 नेपाल थामी समाजका अनुसार परिवारसँगको सल्लाहमा शनिबार काठमाडौंस्थित पशुपति आर्यघाटमा थामीको अन्त्येष्टि गरिने भएको हो।

ad

नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट चार दिनको बिदा लिएर रसुवा गएका थिए। उनी एक कार्यक्रममा सहभागी हुन केरुङ जाने योजनामा रहेको जानकारी परिवारलाई दिएका थिए। तर, उनी चीनतर्फ पुगे वा नपुगेको यकिन हुन सकेको छैन।

बाढी आउनुभन्दा एक दिनअघि रसुवातर्फ प्रस्थान गरेका थामीसँग सोही दिन साँझ परिवारको सम्पर्क भएको थियो। त्यसपछि भने उनको कुनै खबर नआएको उनकी श्रीमती कालिका खड्काले बताएकी छन्।

बाढीपछि विभिन्न निकायमार्फत खोजी तथा उद्धारको प्रयास गरिए पनि थामीको अवस्था पत्ता लाग्न सकेन। बाढी आएको दिन बिहान ८ः२१ बजेसम्म उनको मोबाइलको लोकेसन देखिएको र त्यसपछि मोबाइल बन्द भएको जनाइएको छ।

थामी लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। अपराध तथा अनुसन्धानमूलक पत्रकारितामा विशेष रुचि राख्ने उनी एक दशकभन्दा बढी समयदेखि नयाँ पत्रिकामा कार्यरत थिए।

पत्रकारितासँगै सामाजिक क्षेत्रमा समेत सक्रिय थामी नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत थिए। दोलखा स्थायी घर भएका थामीका श्रीमती र एक छोरी छन्।