
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका घरपरिवार, व्यवसायी तथा उद्योगीले विद्युत् सेवामा तत्काल राहत पाउने भएका छन्। सरकारले बाढीबाट क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत दिने निर्णय गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्मा परेका नागरिकलाई राज्यको साथ रहेको अनुभूति गराउने उद्देश्यले विद्युत् सेवामा राहतको व्यवस्था गरिएको बताए।
‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट संकलन भएको विद्युत् शुल्कसमेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट क्षति पुगेका ग्राहकका लागि भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ।
त्यसैगरी बाढीका कारण क्षतिग्रस्त घर, व्यवसाय र उद्योगलगायतका ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ। लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
बाढी प्रभावित क्षेत्रका ग्राहकलाई महसुलमा थप सहुलियत वा छुट दिन सकिने सम्भावनाबारे अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ।
बाढीबाट प्रभावित १५ वटा पालिकामा विद्युत् सेवा पुनः सञ्चालनको काम भइरहेको छ। सोही क्रममा प्रभावित ग्राहकलाई विद्युत् महसुलमा कति छुट वा सहुलियत दिन सकिन्छ भन्ने विषयमा अध्ययन गरी प्रस्ताव पेस गर्न प्राधिकरणलाई भनिएको हो।
प्राधिकरणले अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा यसै साता बाढी प्रभावित ग्राहकलाई उपलब्ध गराइने थप विद्युत् महसुल छुट तथा सहुलियतको टुंगो लगाउने तयारी गरेको छ।
बाढीका कारण विद्युत् पूर्वाधारमा मात्र नभई घर, उद्योग, व्यवसाय र अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। प्रभावित नागरिकमाथि परेको तत्कालीन आर्थिक भार कम गर्न विद्युत् सेवासँग सम्बन्धित विषयमा समेत सहजीकरण गर्ने उद्देश्यले सरकारले यो व्यवस्था अघि बढाएको हो।







Facebook Comments