काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक तय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुनेछ।

ad

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् व्यवस्थापनका लागि सभापति लामिछानेले पहलकदमी बढाएका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदेखाएपछि लामिछानेले यसअघि भदौ ११ र १६ गते पनि सर्वदलीय बैठक बोलाइसकेका छन्।

भदौ ११ गतेको पहिलो बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो भने भदौ १६ गतेको दोस्रो बैठकमा विभिन्न दलका दोस्रो तहका नेताहरूबिच यसै विषयमा थप छलफल भएको थियो।