सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा जल सतह उच्च भएको छ। पछिल्लो मापनअनुसार ब्यारेजमा एक लाख ७१ हजार ७१५ क्युसेक पानीको बहाव पुगेको छ।

कोशी परियोजनाका अनुसार बुधबार बेलुकी ६ः१५ बजे उक्त परिमाणमा पानी मापन गरिएको हो। जल सतह बढेपछि ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको परियोजनाले जनाएको छ।

ad

पानीको बहाव बढेपछि ब्यारेज हुँदै आवतजावत गर्ने भारी सवारीसाधनलाई पालैपालो सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ।

परियोजनाका अनुसार पहाडी जिल्लाबाट सप्तकोशीमा मिसिने विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेकाले मुख्य नदीमा समेत जल सतह उकालो लागेको हो।

जल सतह अझै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले नदी आसपासका क्षेत्र तथा ब्यारेज क्षेत्रमा सतर्कता अपनाउन थालेका छन्।