
हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ महालक्ष्मी खोलानजिक ईभी माइक्रो दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मंगलबार काठमाडौंको बाटो हुँदै हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको ईभी माइक्रो दुर्घटनामा परेको हो। दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक बारा, कलैया–२४ का २० वर्षीय अमिर अन्सारी र हेटौँडा–११ की २३ वर्षीया कल्पना तामाङलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
बारा महागढीमाई–११ की २१ वर्षीया बबियाकुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, नामथर र ठेगाना खुल्न नसकेका करिब ३४/३५ वर्षीय एक पुरुष पनि गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत हुन बाँकी छ। घटनास्थलमा उद्धार तथा मृतकको पहिचान खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।









Facebook Comments