काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई सुरक्षित र व्यवस्थित रूपमा पुनःस्थापना गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए। त्यसका लागि सरकारी स्रोतसाधनसँगै आवश्यकताअनुसार दातृ निकायबाट प्राप्त सहयोगसमेत परिचालन गरिने उनको भनाइ थियो।

ad

बाढीपछिको वास्तविक क्षतिको अवस्था र स्थानीय आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन गरिएको छलफलले आगामी पुनःस्थापना योजनालाई प्रभावकारी बनाउन सहयोग पुग्ने प्रधानमन्त्री शाहले बताए। विपद्का समयमा संघ, प्रदेश र स्थानीय सरकारबीच भएको समन्वयको समेत उनले प्रशंसा गरे।

नदी किनारका बस्ती पुनःस्थापना गरिने

प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट प्रभावित नदी तटीय क्षेत्रमा पुनः बस्ती बसाउन जोखिमपूर्ण हुने स्पष्ट पारे। प्रभावित क्षेत्रबाट धेरै टाढा नपर्ने तर सुरक्षित स्थान पहिचान गरी नयाँ बस्ती विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

नयाँ बस्ती निर्माण गर्दा केवल घरको व्यवस्थापनमा सीमित नभई स्थानीय नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र जीविकोपार्जनलाई समेत ध्यान दिनुपर्नेमा उनले जोड दिए। खेतीयोग्य जमिनको संरक्षण गर्दै वैज्ञानिक र दीर्घकालीन योजनाका आधारमा बस्ती व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

उपयुक्त सुरक्षित स्थान पहिचान गरी संघीय सरकारसमक्ष सिफारिस गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

सडक पुनःस्थापनालाई प्राथमिकता

बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सरकार निरन्तर काम गरिरहेको प्रधानमन्त्री शाहले बताए। सडक सञ्जाल पुनःस्थापित भएपछि प्रभावित नागरिकको दैनिक जीवनलाई सामान्य अवस्थामा फर्काउन सहज हुने उनको विश्वास छ।

जनप्रतिनिधिसँगको प्रत्यक्ष छलफलबाट स्थानीय तहमा रहेका वास्तविक समस्या, क्षतिको अवस्था र तत्काल आवश्यकताबारे थप जानकारी प्राप्त भएको प्रधानमन्त्री शाहले बताए। सरकार अब पुनःस्थापना र पुनर्निर्माणका कामलाई स्थानीय आवश्यकतासँग जोडेर अघि बढ्ने उनको भनाइ छ।