दाङ । नेपाल संस्कृत विश्वविद्यालयमा नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मी र कुलसचिव (रजिस्टार) प्रा.डा. नवराज कट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदीय जिम्मेवारी सम्हालेका छन्। विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाले नवनियुक्त शिक्षाध्यक्ष रेग्मी र कुलसचिव कट्टेललाई शपथ गराउँदै पदभार ग्रहण गराएका हुन्। शपथ तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका प्राचार्य, शाखा तथा महाशाखा प्रमुख र कर्मचारीहरूको सहभागिता थियो।

नवनियुक्त पदाधिकारीको स्वागत तथा शुभकामना दिन विश्वविद्यालय परिसरमा छुट्टै कार्यक्रमसमेत आयोजना गरिएको थियो। नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक टीकाराम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति खतिवडा प्रमुख अतिथि तथा शिक्षाध्यक्ष रेग्मी र कुलसचिव कट्टेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

ad

कार्यक्रममा विश्वविद्यालयका पूर्वपदाधिकारी, परीक्षा नियन्त्रक, आयुर्वेद अध्ययन संस्थानका डिन, विभिन्न विद्यापीठका प्राचार्य, जग्गा व्यवस्थापन समिति तथा बेलझुण्डी क्षेत्र विकास समितिका अध्यक्ष, शिक्षक, कर्मचारी र विद्यार्थीको उपस्थिति थियो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नयाँ पदाधिकारी नियुक्तिसँगै विश्वविद्यालयले नेतृत्वको पूर्णता पाएको र अब शैक्षिक तथा प्रशासनिक क्षेत्रमा नयाँ गति लिनुपर्नेमा जोड दिए। बेलझुण्डी जग्गा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बस्नेत, बेलझुण्डी क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर डाँगी, ऋण महाशाखाका प्रमुख हरिबहादुर डिसी, परीक्षा नियन्त्रक मुरलीधर दाहाल, सेवा आयोगका पूर्वअध्यक्ष प्रा। लेखनाथ आचार्य तथा प्रा।डा। भागवत शर्मालगायतले विश्वविद्यालयको समग्र विकासका लागि प्रभावकारी ढंगले अघि बढ्न नयाँ नेतृत्वलाई शुभकामना दिए।

कुलसचिव प्रा.डा. नवराज कट्टेलले विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्‍याउन आफूहरू निरन्तर र सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मीले संस्कृत भाषामै मन्तव्य राख्दै विश्वविद्यालयको प्राज्ञिक उन्नयनलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाले विश्वविद्यालयमा देखिएका विद्यमान समस्या समाधान गर्दै संस्थालाई गरिमामय उचाइमा पुर्‍याउन नयाँ नेतृत्व प्रतिबद्ध रहेको बताए। उनले नेपाल सरकारद्वारा गठित छानबिन समितिबाट छनोट भएर आफूहरू विश्वविद्यालयलाई थप गति दिन जिम्मेवारीमा आएको उल्लेख गर्दै आगामी दिनमा सुधार र सकारात्मक परिवर्तनका लागि काम गर्ने धारणा राखे।

कार्यक्रमको सञ्चालन सामान्य प्रशासन तथा सम्पत्ति व्यवस्थापन महाशाखाका शाखा प्रमुख खिमबहादुर केसीले गरेका थिए भने स्वागत मन्तव्य प्रा। अर्जुन भट्टराईले राखेका थिए। कार्यक्रमको समापन अध्यक्ष टीकाराम बुढाले गरेका थिए।