काठमाडौं । नेपाली जनसम्पर्क समिति, जर्मनीले नेपालमा परेको प्राकृतिक विपत्तिका पीडितहरूलाई आर्थिक तथा राहत सहयोग प्रदान गर्दै आएको छ। नेपाली कांग्रेसको प्रवास संगठनको रूपमा सक्रिय यस समितिले जर्मनीमा रहेका नेपालीहरूबीच समन्वय र सहयोग संकलन गरी मातृभूमिमा संकट पर्दा निरन्तर हातेमालो गर्दै आएको छ।


गत २६ सेप्टेम्बरका दिन भोटेकोशी क्षेत्रमा आएको पहिरो तथा बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन, सम्पत्ति तथा पूर्वाधारको क्षति भयो। नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले भोग्नुपरेको पीडादायी अवस्था देखेर प्रवासमा रहेका हामी नेपालीहरूको मन पनि नेपालसँगै रोएको छ।

ad

नेपाल आमामाथि परेको चोटमा सकेको मलम लगाउने र पीडितहरूको आँसु पुछ्ने भावनाका साथ हामीले छोटो समयमै नेपाली कांग्रेस आस्थावन नेपाली जन सम्पर्क समिति जर्मनीका साथीहरू वाट ५,५२५ युरो संकलन गर्न सफल भयौँ। त्यसमा मेरो व्यक्तिगत तर्फबाट ६०० युरो थप गरी कुल ६,१२५ युरो पुराएर विभिन्न क्षेत्रमा सहयोगस्वरूप उपलब्ध गराइएको समितिका संयोजक बिजय मोक्तानले जानकारी दिए । संकलित कुल रकम ६१२५ युरो मध्ये नेपाली कांग्रेसको बाढीपीडित राहत कोषमा रु ५,००,१०८ (२,८७१.६२ युरो) सहयोग गरिएको समितिले जनाएको छ।

यस्तै समितिका अनुसार बाढीबाट प्रभावित १०० जना विद्यार्थीलाई नेपाल विद्यार्थी संघमार्फत निःशुल्क शिक्षा प्रदान गर्ने अभियानका लागि रु। १,००,१०८ (५७३.६६ युरो) सहयोग गरिएको छ।

यसैगरी नेपलिज एनआरडब्लु क्रिकेट टिम मार्फत रसुवाका बाढीपहिरो प्रभावितहरूका लागि दीर्घकालीन रूपमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यले रु। १,७५,००० (१,००० युरो) सहयोग गरिएको छ।

स्टर्टगाड लाई २०० युरो (करिब रु. ३५,००००) सहयोग गरिएको छ भने एनआरएनए एलसीसी हिसेनको खातामा १,२०० युरो (करिब रु. २,१०,०००) जम्मा गरी एनआरएन एनसीसी मार्फत एनआरएनए आईसीसी लाई उपलब्ध गराउने समितिले जनाएको छ ।

यसरी संकलित रकममध्ये ५८४५.२८ वितरण गरी हाल २७९.७२ युरो बाँकी रहेको जानकारी पनि समितिले जनाएको छ  उक्त बाँकी रकम पनि आवश्यकताअनुसार नेपाली समुदाय तथा विपद् प्रभावितहरूको सहयोगमा उपलब्ध गराइनेछ।

समितिका अनुसार प्रवासमा हामी केवल पार्टीको नारा र झण्डा मात्र फरफराउँदैनौँ। हाम्रो सम्बन्ध नारा र झण्डामा मात्र सीमित छैन। नेपाल आमामाथि परेको हरेक दुःख, पीडा र विपत्तिमा तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूका हरेक दुःखमा हामी निरन्तर साथ दिँदै आएका छौँ।

हामी नेपालीहरू सधैँ पार्टी, जाति, क्षेत्र र अन्य विभाजनभन्दा माथि उठेर संकटका बेला एकजुट हुने गरेका छौँ। यही हाम्रो पहिचान हो, यही हाम्रो नेपालीपन हो। हाम्रो राजनीति केवल भाषण र नारामा सीमित हुनुहुँदैन। दुःखमा साथ दिने, पीडामा मलम लगाउने र आवश्यक पर्दा मातृभूमिका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने व्यवहारमै हाम्रो राजनीति र सामाजिक जिम्मेवारी प्रतिबिम्बित हुनुपर्छ।

हजारौँ किलोमिटर टाढा प्रवासमा रहे पनि हाम्रो मन, भावना र जिम्मेवारी सधैँ नेपाल र नेपालीसँगै जोडिएको छ। नेपाल आमालाई परेको हरेक संकटमा प्रवासबाट सक्दो सहयोग गर्नु हाम्रो कर्तव्य मात्र होइन, मातृभूमिप्रतिको माया, नेपालीप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको अभिव्यक्ति पनि हो।

साथै, विपद्पछि तत्काल राहत तथा उद्धारसँगै सरकारले दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाको स्पष्ट योजना बनाउन आवश्यक देखिन्छ। राहत वितरण क्षणिक आवश्यकता पूरा गर्ने माध्यम हो तर प्रभावित परिवार, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल तथा अन्य पूर्वाधारको दीर्घकालीन पुनर्निर्माणका लागि ठोस र प्रभावकारी योजना आवश्यक छ। अबको प्राथमिकता पीडितहरूको सुरक्षित पुनःस्थापना र प्रभावित क्षेत्रको दिगो पुनर्निर्माण हुनुपर्छ।

 यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण नेपालीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संयोजक मोक्तानले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् भने घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेका छन् ।