काठमाडौं । वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व र विभिन्न दिशाबाट आउने पानीका कारण चोभारको निकास प्रणाली थप संवेदनशील बनेको बताएका छन् ।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै श्रेष्ठले काठमाडौं उपत्यकामा बाढीको जोखिम न्यूनीकरण गर्न चोभारको पानी निकास प्रणालीको विकल्प खोज्न काठमाडौं महानगरपालिकालाई सुझाव दिए । 

ad

काठमाडौंको विभिन्न क्षेत्रबाट जम्मा हुने पानी अन्ततः चोभार हुँदै बाहिरिने भएकाले त्यहाँको निकास साँघुरो रहेको अवस्थामा कुनै अवरोध आए ठूलो विपद् निम्तिन सक्ने उनले बताए । त्यसैले सम्भावित जोखिम कम गर्न वैकल्पिक पानी निकासका रूपमा सुरुङ निर्माणको सम्भावनाबारे अध्ययन गर्न उनले आग्रह गरेका हुन्।

चोभारको एउटै निकासमा मात्र निर्भर रहँदा भविष्यमा समस्या उत्पन्न हुन सक्ने भन्दै श्रेष्ठले विपद् आइसकेपछि समाधान खोज्नुभन्दा जोखिम पहिचान गरी समयमै वैकल्पिक उपाय तयार गर्नु उपयुक्त हुने उनको भनाई थियो ।