काठमाडौं । वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्यले ५० वर्षअघिदेखि नै महानगर बिग्रिन थालेको बताएका छन् ।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यका लामो समयदेखि अव्यवस्थित बन्दै गए पनि पछिल्ला दिनमा महानगरलाई व्यवस्थित र सुन्दर बनाउने प्रयास भइरहेको बताए।

ad

‘‘करिब ५० वर्षअघिदेखि नै महानगर बिग्रिन थालेको हो। अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ,’ आचार्यले भने, ‘तर पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा काम भएका छन्।’

उनले काठमाडौंका विभिन्न स्थानमा निर्माण गरिएका फल्चालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै यस्ता संरचनाले बस्ने वा ओत लाग्ने ठाउँको काम मात्र नगर्ने बताए। फल्चाभित्र काठमाडौंको मौलिक सम्पदा, संस्कृति र इतिहाससमेत जोडिएको उनको भनाइ थियो।

काठमाडौंलाई ‘देवताहरूको सहर’को संज्ञा दिँदै आचार्यले यहाँका बासिन्दाले आफ्नो सहर, सम्पदा र संस्कृतिको संरक्षणलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताए। महानगरलाई जोगाउने जिम्मेवारी सरकार वा महानगरपालिकाको मात्र नभई प्रत्येक नागरिकको पनि भएको उनले उल्लेख गरे।