काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद समाधानतर्फ अघि बढ्ने संकेत देखिएको छ। पार्टीको संस्थापन पक्ष क्रियाशील सदस्यता र महाधिवेशन कार्यतालिकासम्बन्धी मागमा लचक देखिएपछि दुई पक्षबीच सहमतिको सम्भावना बढेको हो।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गत पुस १० गते टुंगो लगाइएको क्रियाशील सदस्यताको विवरणलाई मान्यता दिने निर्णय गरेको छ। नवीकरण गराएका भए पनि डिजिटल प्रणालीमा विवरण अद्यावधिक हुन नसकेका सदस्यलाई समेत १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय बैठकले गरेको हो।

ad

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार अनुशासन उल्लङ्घन गरी कारबाहीमा परेका, पार्टी परित्याग गरेका तथा निधन भइसकेका व्यक्तिलाई भने महाधिवेशन प्रक्रियामा सहभागी गराइने छैन। यीबाहेक क्रियाशील सदस्यता नवीकरण गरेका सबै सदस्यलाई महाधिवेशनमा सहभागी हुने बाटो खोलिएको उनले बताए।

क्रियाशील सदस्यताको विवरणलाई लिएर संस्थापन इतर पक्षले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको थियो। डिजिटल प्रणालीमा विवरण अद्यावधिक नभएका सदस्यलाई महाधिवेशनबाट वञ्चित गर्न नहुने उसको मुख्य माग थियो। संस्थापन पक्षले पछिल्लो निर्णयमार्फत उक्त मागलाई सम्बोधन गरेको हो।

कार्यतालिका पनि संशोधन गर्ने तयारी
क्रियाशील सदस्यताको विवाद समाधानसँगै कांग्रेसले महाधिवेशनको कार्यतालिका समेत परिमार्जन गर्ने तयारी गरेको छ। सहमतिको आधारमा अधिवेशनका बाँकी प्रक्रिया अघि बढाउने विषयमा बैठकमा छलफल भइरहेको छ।

सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टीभित्र एकता कायम गर्न इतर पक्षले उठाएका विषयलाई सम्बोधन गर्ने प्रयास भइरहेको बताए। उनका अनुसार महाधिवेशनको कार्यतालिका पनि सहमतिका आधारमा संशोधन गरिनेछ।

हालको छलफलअनुसार वडा अधिवेशन असोज ४ गते गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारी छ।