
काठमाडौं । भोटेकोशीका कारण भदौ १० गते रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीले प्रभावित भएका नागरिकको राहत तथा पुनस्र्थापनाका लागि मीनकुमारी राणा प्रतिष्ठान बालकोट, भक्तपुर तथा राणा परिवारका तर्फबाट १ लाख १ सय ११ रुपैयाँ आर्थिक सहयोग नेपाली कांग्रेसको राहत कोषमा जम्मा गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष कबिर राणासहितको टोलीले सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर महामन्त्री प्रदीप पौडेललाई उक्त रकमको चेक तथा पत्र हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेसको ‘मानव सहायता कल्याण कोष’मा हस्तान्तरण गरिएको उक्त सहयोग रकम पार्टीको भौचरमार्फत जम्मा गरिएको हो ।
प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढीपीडित परिवारको घाउमा सानो भए पनि मल्हम लगाउन सकोस् भन्ने पवित्र भावनाका साथ सहयोग उपलब्ध गराइएको प्रतिष्ठानका अध्यक्ष राणाले जानकारी दिए ।
रकम हस्तान्तरणका क्रममा प्रतिष्ठानका प्रतिनिधिहरूले विपत्तिको समयमा अग्रपंक्तिमा रहेर उद्धार र राहतमा कांग्रेसले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि मानवीय कार्यमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन् । उक्त रकमको चेक बुझ्दै महामन्त्री पौडेलले प्रतिष्ठानले गरेको कामको प्रशंसा गरे ।







Facebook Comments