
काठमाडौं । संयुक्त राज्य अमेरिका निवासी विष्णु सुवेदीलाई अन्तर्राष्ट्रिय जनसम्पर्क समितिको संयोजकको जिम्मेवारी दिइएको छ । कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ ‘क’ अनुसार पार्टी सभापति गगन कुमार थापाले संयोजकको जिम्मेवारी दिइएको हो ।
सभापति थापाले केन्द्रीय कार्यसमितिको मार्गदर्शन र विधान-नियमावलीको परिधिभित्र रहेर विश्वभरका जनसम्पर्क समितिहरूसँग आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् । साथै, तोकिएको कार्यदिशा अनुसार समयमै अधिवेशन सम्पन्न गराउने दायित्व सुवेदीलाई दिइएको छ ।
नयाँ नेतृत्वको मातहतमा अन्तर्राष्ट्रिय जनसम्पर्क समिति थप सुदृढ, गतिशील र परिणाममुखी बन्ने अपेक्षा व्यक्त गर्दै महामन्त्री थापाले सुवेदीको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
सुवेदी राजनीतिक निष्ठा र सांगठनिक परिपक्वता बोकेका नेता हुन्। यसअघि सन् २०१४ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाले उनलाई जनसम्पर्क समिति अमेरिकाको संयोजकको जिम्मेवारी सुम्पेका थिए। उक्त समयमा आफू निर्वाचनमा पराजित भए तापनि व्यक्तिगत लाभहानिभन्दा माथि उठेर उनले सफलतापूर्वक अधिवेशन सम्पन्न गराएका थिए।









Facebook Comments