
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (युएनडीओ) ले रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि नेपाल सरकारको विपद् राहत तथा पुनर्स्थापना कोषमा रु. ५१,००,५५५ (एकाउन्न लाख पाँच सय पचपन्न रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ।
परराष्ट्र मन्त्रालयमा दर्ता रहेको गैर-राजनीतिक तथा गैर-नाफामूलक यस संस्थाका सभापति सोनम लामाले शुक्रबार (सेप्टेम्बर ११, २०२६) का दिन परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरी बैंक भौचरसहितको औपचारिक पत्र हस्तान्तरण गर्नुभयो। नेपाल सरकारले राष्ट्रिय विपद्का बेला गरेको आह्वानलाई समर्थन गर्दै युएनडीओ ले यो रकम उपलब्ध गराएको हो।
विश्वभर छरिएर रहेका नेपालीहरूको ज्ञान, सीप, स्रोत र सामर्थ्यलाई नेपालको समृद्धिमा जोड्दै आएको यस संस्थाले बाढी प्रभावितहरूका लागि १ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ। सोही अभियानको पहिलो चरण अन्तर्गत ५१ लाखभन्दा बढी रकम बुझाइएको हो भने विश्वभरका आफ्ना राष्ट्रिय सङ्गठनमार्फत सहयोग सङ्कलन कार्य अझै जारी राखिएको छ।
आगामी दिनमा सङ्कलन हुने थप रकम पनि परराष्ट्र मन्त्रालयको समन्वयमा पीडितहरूकै पुनर्स्थापनाका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सभापति लामाले सङ्कलित सहयोग विपद् प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उपयोग हुने विश्वास व्यक्त गर्नुभएको छ।









Facebook Comments