काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो । 

प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला रहेका छन् भने ५०५ वटा आंशिक मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये १०३ वटा शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने १,१४८ शव सुरक्षित तवरले जमिनमुनि व्यवस्थापन गरिएको छ । त्यस्तै पहिचान नभएका १,३२६ विवरण वेबसाइटमा अपलोड गरिएको छ । शव पहिचानका लागि मृतकका १,२८६ र मृतकका आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ ।

ad

बाढीमा परी हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा स्वदेशी नागरिक ३,४७९ (२,९०७ पुरुष र ५७२ महिला) तथा विदेशी नागरिक ६१० (२७२ पुरुष, ३२८ महिला र १० अन्य) रहेका छन् । 

आपत्कालीन उद्धार कार्यअन्तर्गत हालसम्म घाइते तथा प्रभावित गरी कुल ९,२८७ जनाको उद्धार गरिएको छ । जसमा ६,४०७ पुरुष, २,८३० महिला र ५० जना पहिचान नखुलेका रहेका छन् । उद्धार गरिएका नागरिकमध्ये हाल ३,१७६ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रित छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७,८७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बाढीका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी प्रभावित भएका छन् ।

यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धिका लागि प्रभावित क्षेत्रहरूमा १६६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ४५,२३८ जना स्थानीय नागरिकको सहभागिता रहेको नेपाल प्रहरीले जनाएको छ ।