काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण हिमबाढीबाट पाँच जिल्लाका १५ स्थानीय तह प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा १६ हजार ११० घरधुरीका ६४ हजार ३३५ जना प्रभावित भएका छन्।

प्राधिकरणले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकका आधारमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रको विवरण सार्वजनिक गरेको हो। यी पाँच जिल्लाका १५ स्थानीय तहमा कुल ५१ हजार ९९ घरधुरी र दुई लाख चार हजार ६०१ जनसंख्या रहेको प्राधिकरणले जनाएको छ।

ad

प्रत्यक्ष रूपमा बाढीबाट प्रभावित घरधुरीको संख्या भने सात हजार ५७० रहेको छ। प्रत्यक्ष प्रभावित जनसंख्या ३२ हजार ९६३ रहेकोमा १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला छन्।

रसुवामा चार पालिका प्रभावित

बाढीबाट रसुवाका गोसाइँकुण्ड, कालिका, आमाछोदिङ्मो र उत्तरगया गाउँपालिका प्रभावित भएका छन्। चार पालिकाका १६ वडा बाढीको प्रभावमा परेका छन्।

गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २, ३, ५ र ६ मा एक हजार ३०३ घर तथा भवन क्षतिग्रस्त हुँदा एक हजार ४४४ घरधुरीका पाँच हजार ७४३ जना प्रभावित भएका छन्।

कालिका गाउँपालिका–१ मा ११४ भवनमा क्षति पुगेको छ। यहाँ ११९ घरधुरीका ४९१ जना प्रभावित छन्। आमाछोदिङ्मो गाउँपालिकाका वडा नम्बर १, २, ४ र ५ मा ७६ भवन क्षतिग्रस्त हुँदा ७७ घरधुरीका ३१३ जना प्रभावित भएका छन्।

उत्तरगया गाउँपालिकाका पाँचवटै वडा प्रभावित भएका छन्। यहाँ ६६५ भवनमा क्षति पुगेको र ६९६ घरधुरीका दुई हजार ७१९ जना प्रभावित भएको प्राधिकरणको विवरण छ।

नुवाकोटमा सबैभन्दा बढी प्रभाव

नुवाकोटका बेलकोटगढी, विदुर, किस्पाङ र तारकेश्वर गरी चार स्थानीय तहका २१ वडा बाढीको प्रभावमा परेका छन्।

बेलकोटगढी नगरपालिका–५, ७ र ८ मा एक हजार ८३ भवनमा क्षति पुगेको छ। यहाँ एक हजार १२७ घरधुरीका चार हजार ४८३ जना प्रभावित भएका छन्।

विदुर नगरपालिकाका वडा नम्बर १ देखि १० र वडा नम्बर १२ प्रभावित भएका छन्। नगरपालिकामा पाँच हजार २२८ भवन क्षतिग्रस्त हुँदा पाँच हजार ९२८ घरधुरीका २३ हजार २३० जना प्रभावित भएको तथ्यांक छ।

किस्पाङ गाउँपालिका–५ मा ९०६ भवन क्षतिग्रस्त हुँदा ९३९ घरधुरीका तीन हजार ३८२ जना प्रभावित छन्। तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ४ मा १७८ भवनमा क्षति पुग्दा १८५ घरधुरीका ६६५ जना प्रभावित भएका छन्।

धादिङका चार पालिका प्रभावित

धादिङमा बेनीघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिकाका १९ वडा प्रभावित भएका छन्।

बेनीघाट रोराङका वडा नम्बर ३, ५, ७, ९ र १० प्रभावित भएका छन्। करिडोर तथा बफर क्षेत्रमा पर्ने अनुमानित एक हजार ७२३ भवनमा क्षति पुगेको र त्यहाँका एक हजार ९०५ घरधुरीका आठ हजार ६८ जना प्रभावित भएका छन्।

गजुरीका वडा नम्बर १, २, ५ र ६ मा क्षति पुगेको क्षेत्रमा ३५३ भवन, ३९६ घरधुरी र एक हजार ५८९ जना छन्।

गल्छी गाउँपालिकाका पाँच वडा प्रभावित भएका छन्। क्षति पुगेको क्षेत्रमा ७६६ भवन, ८४० घरधुरी र तीन हजार ३६३ जना रहेका छन्। सिद्धलेकका वडा नम्बर ३, ४, ६ र ७ मा ७५८ भवन, ७८१ घरधुरी र तीन हजार १७० जना प्रभावित भएको प्राधिकरणले जनाएको छ।

गोरखामा दुई पालिका प्रभावित

गोरखाका गण्डकी र सहिद लखन गाउँपालिकाका १० वडा बाढीको प्रभावमा परेका छन्।

गण्डकी गाउँपालिकाका वडा नम्बर १, २, ६, ७ र ८ मा क्षति पुगेको क्षेत्रमा ५९३ भवन, ६१७ घरधुरी र दुई हजार ४७८ जना छन्।

सहिद लखन गाउँपालिकाका वडा नम्बर ३ र ४ मा १३८ भवनमा क्षति पुगेको छ। यहाँ १४६ घरधुरीका ५५१ जना प्रभावित भएका छन्।

चितवनमा इच्छाकामना प्रभावित

चितवनको इच्छाकामना गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ बाढीबाट प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित ७९६ भवन रहेका छन्। ती क्षेत्रमा ९१० घरधुरीका चार हजार ९० जना प्रभावित भएको विवरणमा उल्लेख छ।