काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा गत भदौ १७ गते भएको आगलागीबाट भ्रष्टाचार मुद्दासँग सम्बन्धित मिसिल तथा कागजातसमेत जलेको पाइएको छ। सिंहदरबार नजिकै रहेको नयाँ भवनको भुइँतलामा मध्यरातमा भएको आगलागीमा विभिन्न मुद्दाका अभिलेख र कागजात क्षतिग्रस्त भएका हुन्।

आगलागीको कारण पत्ता लगाउन सर्वोच्च प्रशासन र प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। तर, हालसम्म दुवै पक्षको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छैन। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको थियो।

ad

राति करिब साढे १ बजे सुरु भएको आगलागी केही समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। यद्यपि, अन्डरग्राउन्डमा सुरक्षित राखिएका केही मिसिल, कागजात र अभिलेख भने जलेर नष्ट भएको जनाइएको छ।

सर्वोच्च प्रशासन स्रोतका अनुसार आगलागी भएको स्थानमा भ्रष्टाचार मुद्दासँग सम्बन्धित मिसिल, प्रमाण तथा कागजात जलेका अवशेषसमेत भेटिएका छन्। यसअघि २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट जोगिएका केही अभिलेख पनि पछिल्लो आगलागीमा परेको हुनसक्ने स्रोतको भनाइ छ।

नयाँ भवन निर्माणसँग सम्बन्धित कागजातसमेत आगलागीमा नष्ट भएको हुनसक्ने आशंका गरिएको छ। भवन निर्माणको ठेक्का प्रक्रियासँग सम्बन्धित अभिलेख महत्त्वपूर्ण मानिन्छन्।

सर्वोच्च प्रशासनका एक प्रत्यक्षदर्शी अधिकारीका अनुसार भ्रष्टाचार मुद्दाका मिसिल र कागजात जलेको देखिए पनि आगलागी कसरी भयो भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न सक्ने अवस्था छैन। आगलागी दुर्घटनावश भएको हो वा अन्य कारणले भन्ने विषय अनुसन्धान प्रतिवेदनबाट मात्र स्पष्ट हुने उनको भनाइ छ।

यसैबीच, सर्वोच्च अदालतको नयाँ भवन निर्माणको ठेक्का प्रक्रियामाथि विगतमा महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा अघि बढाइएको भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा प्रतिस्पर्धा, मितव्ययिता र क्षेत्राधिकारका विषयमा महालेखाले प्रश्न उठाएको थियो।

नयाँ भवनको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको र त्यसक्रममा सम्बन्धित कागजात मगाइएको बताइएको छ। पछिल्लो आगलागीमा तीमध्येका केही कागजातसमेत क्षति भएको हुनसक्ने आशंका गरिएको छ।

तर, कुन–कुन मुद्दा वा अभिलेख पूर्ण रूपमा नष्ट भए भन्ने यकिन विवरण भने अनुसन्धान पूरा भएपछि मात्र खुल्ने देखिएको छ।