काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीले सुरुङभित्रको खोजीलाई तीव्र बनाएका छन्। भदौ १० गतेको बाढीपछि प्रभावित आयोजनास्थलमा नेपाली सेनाले पहुँचमार्ग खुलाउनेदेखि सुरुङभित्र उद्धार कार्यसम्मलाई प्राथमिकताका साथ अघि बढाएको हो।

बाढीका कारण अवरुद्ध भएको आयोजनाको ‘सर्भिस टनेल’सम्म पुग्ने सडक खुलाउने काममा सेनाले उल्लेख्य प्रगति गरेको छ। सुरुङ वारपार आवतजावत सहज बनाउन डोरीको सहायताले अस्थायी मार्गसमेत तयार पारिएको छ।

ad

बाढी आएको दिनमै नेपाली सेनाको टोली घटनास्थल पुगेर प्रारम्भिक निरीक्षण गरेको थियो। त्यस क्रममा सुरुङको प्रवेश बिन्दुबाट जमेको दलदल हटाउँदै टोली भित्र प्रवेश गरेको थियो। खोजीका क्रममा सुरुङभित्रबाट दुई जनाको शव फेला पारिएको सेनाले जनाएको छ।

खोजीलाई थप प्रभावकारी बनाउन भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाका विशेषज्ञ टोली संयुक्त रूपमा परिचालन भएका छन्। उक्त टोली सुरुङको प्रवेश बिन्दुबाट करिब १०५ मिटरभित्रसम्म पुगेर खोजी गरिरहेको छ।

सुरुङभित्र जमेको दलदल र माटो हटाउन बबक्याट एस्काभेटरसहित आयोजनास्थलमा उपलब्ध अन्य उपकरण प्रयोग भइरहेका छन्। अवरोध हटाउँदै सुरुङभित्र थप गहिराइसम्म पुग्ने प्रयास जारी रहेको छ।

बाढीपछि सुरुङ र आसपासको क्षेत्रमा ठूलो मात्रामा दलदल तथा माटो थुप्रिएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ। त्यसका बाबजुद उद्धार टोलीले उपकरणको प्रयोगसँगै आवश्यक प्राविधिक विधि अपनाएर खोजीलाई निरन्तरता दिएको छ।

सेनाले पहुँचमार्ग पुनर्निर्माण र सुरुङभित्रको खोजीलाई समानान्तर रूपमा अघि बढाउँदै प्रभावित आयोजनास्थलमा उद्धार तथा पुनःस्थापनाका कामलाई गति दिएको छ।