
काठमाडौं । रसुवासहित देशका विभिन्न बाढीपहिरो प्रभावित जिल्लामा मानवीय क्षतिको विवरण बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहानसम्म विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै मृत्यु चितवनमा भएको छ। त्यहाँ ३६३ जनाको मृत्यु पुष्टि भएको छ। नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
काठमाडौँमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म फेला परेका शवमध्ये १०२ जनाको मात्रै पहिचान खुलेको छ। पहिचान हुन नसकेका शव तथा मानव अंगको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए परीक्षणका लागि नमुना संकलन गर्ने व्यवस्था गरिएको छ।
५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
बाढीपहिरोपछि ५ हजार १३२ जना नागरिक अझै सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांक छ। रसुवामा मात्रै २ हजार ८६० जना हराइरहेका छन्।
रसुवामा बेपत्ता हुनेमा १ हजार ३९३ स्थानीय, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना छन्। यस्तै सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
नुवाकोटबाट १ हजार ७८७ जना तथा करिब ५८७ जना विदेशी पर्यटक पनि सम्पर्कविहीन रहेको जनाइएको छ। तर यो संख्या अन्तिम नभएको प्राधिकरणले जनाएको छ। पहिचान हुन बाँकी शव र उद्धार भइसकेका व्यक्तिहरूको विवरणसमेत तथ्यांकमा समावेश हुन सक्ने भएकाले अहिले रुजु गर्ने काम भइरहेको छ।
१३ हजारभन्दा बढीको उद्धार
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको सकुशल उद्धार गरिएको छ। विभिन्न १० अस्पतालमा उपचार गरिएका ३२९ जनामध्ये २५२ जना उपचारपछि घर फर्किसकेका छन्।
यसबीच नेपाली सेना र सशस्त्र प्रहरीले पनि प्रभावित क्षेत्रमा ठूलो संख्यामा स्वास्थ्य सेवा प्रदान गरेका छन्। नेपाली सेनाले ३ हजार ५३५ र सशस्त्र प्रहरीले ३ हजार २८७ जनालाई प्रत्यक्ष उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ।
उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकायका २१ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमा नेपाली सेनाका ९ हजार ७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन्।
हवाई उद्धारसँगै राहत वितरण तीव्र
प्रभावित क्षेत्रमा हवाई उद्धारलाई समेत निरन्तरता दिइएको छ। नेपाली सेनाले भदौ २३ गतेसम्म १ हजार २६४ उडान गरेकोमा भदौ २४ गते थप २१ उडान गरेको छ। सशस्त्र प्रहरीले पनि २५८ हवाई उडानमार्फत उद्धार तथा राहतमा सहयोग गरेको छ।
प्रभावित जिल्लाका ३७ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ६२८ जना राखिएका छन्। तीमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन्।
सरकारले राहत तथा व्यवस्थापनका लागि रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित १५ स्थानीय तहका लागि थप १३ करोड ५० लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ।
इन्धन आपूर्ति सहज बनाउन प्रभावित क्षेत्रमा ४९ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १५ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। त्यस्तै, ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ।
सडक तथा हवाई माध्यमबाट खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने क्रम जारी छ। राहत अभियानमा सरकारी निकायसँगै निजी क्षेत्र र नागरिक समाजले समेत सहयोग गरिरहेका छन्।
विपद्को मानसिक असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी मनोसामाजिक परामर्शदाता पनि प्रभावित क्षेत्रमा परिचालन गरेको छ।








Facebook Comments