
नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि प्रवासमा रहेका नेपालीहरूले राहत सहयोग जुटाउने क्रम जारी राखेका छन्। यसै क्रममा युरोपेली मुलुक बेल्जियममा सक्रिय सामाजिक संस्था 'बागलुङ समाज बेल्जियम' ले राहत सहयोग अभियान सञ्चालन गरी संकलन गरेको रु. ३ लाख ४ हजार ५ सय (१ हजार ७ सय ४० युरो) नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ।
विपत्तिका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र पीडितहरूको पुनःस्थापनाका लागि समाजले ऐक्यबद्धता जनाएको छ। "जन्मभूमिभन्दा टाढा कर्मभूमि बेल्जियममा रहे पनि मातृभूमिको दुःख र संकटमा अलग रहन सक्दैनौँ" भन्ने मानवीय भावनाका साथ सञ्चालित अभियानमार्फत संकलित रकम ग्लोबल आईएमई बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा ट्यापट्याप (TapTap) मार्फत पठाइएको समाजले जनाएको छ।
राहत संकलन अभियानमा बागलुङ समाज बेल्जियमको तर्फबाट संस्थागत रूपमा ५ सय ७८ युरो योगदान गरिएको थियो भने बेल्जियममा रहेका अन्य विभिन्न व्यक्ति तथा नेपाली अभियान्ताहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गरेका छन्। अभियानमा राम थापा (१०५ युरो), गंगाधर गौतम (१०१ युरो), दुर्गा शाक्य, विदुर केसी र हरि रोका (प्रतिव्यक्ति १०० युरो), सूर्य सापकोटा (६० युरो), गंगा सार्की (५१ युरो) तथा दीपक सापकोटा, गोविन्द रोका, हरि शर्मा, परमानन्द सापकोटा र रघु आचार्य (प्रतिव्यक्ति ५० युरो) लगायत कुल २३ जना दाताहरूले आर्थिक सहयोग पुर्याएका हुन्।
सन् २०१० मा स्थापना भई "स्वास्थ्य, शिक्षा र सर्वाङ्गीण विकासका लागि" भन्ने मूल नाराका साथ कार्य गर्दै आएको बागलुङ समाज बेल्जियमले विपत्तिको यस कठिन घडीमा सहयोग गर्ने सम्पूर्ण दाता, स्वयंसेवक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा खटिने निकायहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। "सहयोग नै मानवता हो, एकता नै हाम्रो शक्ति हो" भन्ने सन्देश दिँदै समाजले आगामी दिनमा पनि मातृभूमि नेपालमा पर्ने प्राकृतिक तथा सामाजिक संकटहरूमा यस्तै सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता जनाएको छ।










Facebook Comments