काठमाडौं । राजधानीको माइतीघर मण्डलामा एक महिलाले आफैँलाई आगो लगाएर आत्मदाहको गम्भीर प्रयास गरेकी छन्। 

सुरक्षाकर्मीहरूले समयमै हस्तक्षेप गरेर आगो नियन्त्रणमा लिएका कारण उनको ज्यान जोगिएको छ भने उद्धारलगत्तै उनलाई गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण र महिलाको पहिचान खुलाउने प्रयास जारी छ।

ad

राजनीतिक परिवर्तनको वाचा गरेर नयाँ नेतृत्व सत्तामा पुगेको एक वर्ष बितिसक्दासमेत जनजीवनमा परिवर्तन आउन नसक्नु, राज्यबाट नागरिकले न्यायको अनुभूति गर्न नपाउनु र चरम निराशा बढ्दै जानुले यस्ता हृदयविदारक घटनाहरू पुनरावृत्ति हुन थालेका छन्।

आत्मदाह वा आत्मदाहको प्रयासका यस्ता घटना नेपालमा नयाँ भने होइनन्। यसअघि पनि राज्यको प्रशासनिक उदासीनता, आर्थिक संकट र अन्यायविरुद्ध कयौं नागरिकले यस्तै चरम कदम चालेका छन्। 

केही वर्ष अघि संसद् भवन अगाडिको आत्मदाहको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको थियो भने त्यसपछि पनि देशका विभिन्न स्थानमा न्यायको खोजीमा र चरम आर्थिक तथा मानसिक संकटका कारण आफैँलाई आगो लगाउने प्रयासका धेरै घटनाहरू बाहिर आइसकेका छन्।