
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ६ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ३५८ वटा शव फेला परेका छन्।
बाढीबाट सर्वाधिक मानवीय क्षति व्यहोरेका विभिन्न जिल्लाहरूमा खोजी तथा उद्धारका क्रममा हालसम्म कुल १ हजार ३५८ वटा शव फेला परेका छन्। प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको छ। त्यसैगरी, नुवाकोटमा १९७, रसुवामा १७०, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव बरामद गरिएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म ५ हजार ३२६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। फेला परेका शवहरूमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत हुन सकेको छ र सोहीअनुसार परिवारले शव बुझेर लैजाने क्रम जारी छ।
विपद्को यो घडीमा सुरक्षाकर्मीहरूले उद्धार कार्यलाई तीव्रता दिएका छन्। हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ भने विभिन्न अस्पतालमा उपचार गराएर घर फर्किने घाइतेहरूको संख्या ७ हजार ३७ पुगेको छ। अहिले पनि देशका १० वटा विभिन्न अस्पतालमा ३२९ जना घाइतेहरूको उपचार भइरहेको छ।
बाढीका कारण विस्थापित भएका नागरिकहरूलाई लक्षित गर्दै ३९ वटा अस्थायी होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याइएका छन्। यी सेन्टरहरूमा हाल ३ हजार ६२८ जनाले आश्रय लिइरहेका छन्, जसमा नुवाकोटमा २ हजार ६९९, रसुवामा ७३३ र धादिङमा १९६ जना रहेका छन्।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल २१ हजार १४६ सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।
यसका अतिरिक्त, बाढीले प्रभावित बनाएका नागरिकहरूमा देखिन सक्ने मानसिक असरलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० जना मनोसामाजिक परामर्शदाताहरू पनि प्रभावित क्षेत्रमा खटाइएका छन्।








Facebook Comments