
काठमाडौं । रसुवास्थित २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ६ जना कामदारको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। गत भदौ १० गते आएको बाढीका कारण सुरुङमा थुनिएका उनीहरूको जीवितै उद्धार गर्न सकिने उच्च सम्भावना औंल्याउँदै उद्धार टोलीले प्राविधिक प्रयास अघि बढाएको छ।
घटनास्थलमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङ विशेषज्ञ श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले सुरुङभित्र हालसम्म करिब ९० मिटर दूरी पार गरिसकेको छ। अब करिब २०० मिटर अगाडि रहेको मुख्य पावरहाउस क्षेत्रमा पुग्ने प्रयास भइरहेको छ।
सुरक्षित स्थान र खाद्यान्नको उपलब्धता
पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको छ। सुरुङको डिजाइन र लेदो मिसिएको सतहको प्राविधिक विश्लेषण गर्दा पावरहाउसको माथिल्लो भागमा कम्तीमा २ मिटरदेखि ८ मिटरभसम्म खुला र सुरक्षित स्थान रहेको अनुमान गरिएको छ। उक्त क्षेत्रमा भान्सासँगै चामल, पिउने पानी, चिनी, चिया र ब्याट्रीजस्ता अत्यावश्यक खाद्यान्नको समेत उपलब्धता रहेको जानकारी प्राप्त भएको छ। यदि कामदारहरू सोही स्थानसम्म पुग्न सफल भएका छन् भने उनीहरू सुरक्षित अवस्थामा रहने विश्वास गरिएको छ।
जीवितै उद्धारको बलियो सम्भावना
सुरुङभित्र पानीको पहुँच र सुरक्षित स्थानमा रहेर न्यूनतम शारीरिक गतिविधिमार्फत ऊर्जा बचत गरिरहेको खण्डमा मानव शरीरले लामो समयसम्म बाँच्न सक्ने प्राविधिक आधार रहेको न्यौपानेले बताएका छन्। टनेल तथा सुरुङभित्र मानिसहरू १७ देखि ३९ दिनसम्म जीवित रहेका अन्तर्राष्ट्रिय उदाहरणसमेत रहेको उल्लेख गर्दै उनले अक्सिजनको मात्रा, सहनीय तापक्रम र कार्बनडाइअक्साइडको स्थितिले समेत व्यक्तिको दीर्घकालीन जीवन रक्षा निर्धारण गर्ने स्पष्ट पारेका छन्।
सेनाको सहयोगमा द्रुत गतिमा काम
घटनास्थलमै खटिएका अर्का रास्वपा सांसद सागर ढकालका अनुसार नेपाली सेनासँगको सहकार्यमा उद्धार कार्यले तिब्रता पाएको छ। सेनालाई आवश्यक प्राविधिक जानकारी उपलब्ध गराएपछि पिछले दुई दिनदेखि निरन्तर ब्लास्टिङ कार्य भइरहेको छ।
टनेलको मुख्य मुखसम्म बिहीबारसम्म एक्स्काभेटर पुग्ने लक्ष्य राखिएको छ, जसले भित्र छिरेर गरिने उद्धार कार्यलाई थ aप सहज बनाउनेछ। यसका अतिरिक्त, जटिल प्राविधिक कार्य पूरा गर्न आवश्यक पर्ने विशेष मेशिन पुल्चोक इन्जिनियरिङ क्याम्पसमा तयार पारिँदै, जुन बिहीबार बिहानसम्म चिलिमे आयोजना स्थलमा आइपुग्नेछ। उद्धार टोली अहिले सुरुङभित्र सबैलाई सुरक्षित र जीवितै भेट्ने दृढ विश्वासका साथ अघि बढिरहेको छ।








Facebook Comments