
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्षौंदेखि जरा गाडेर बसेर भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रओ र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजीहरू सडकमा उत्रिनुपरेको अवस्था स्मरण गर्दै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित नहुने बताएका छन् ।
जेनजी शहिद दिवसको अवसरमा आज वक्तव्य जारी गर्दै उनले युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गर्दै नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनुपर्ने बताएका छन्। जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु, उनले वक्तत्वमा भनेका छन् ।
वक्तव्यमा भनिएको छ–आज, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र मेरो व्यक्तिगत तर्फबाट उक्त आन्दोलनको वास्तविक मर्मलाई स्मरण गर्दै केही कुरा राख्न चाहन्छु। एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
आन्दोलनका क्रममा अङ्गभङ्ग हुनुभएका, घाइते हुनुभएका तथा मानसिक एवं शारीरिक चोट भोग्नुभएका सम्पूर्णप्रति सम्मान व्यक्त गर्दै, राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु।









Facebook Comments