
काठमाडौं । भोटेकोशी बाढीमा कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस क्षेत्र नं १ भक्तपुरले सोमबार दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।
चाँगुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । कार्यक्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धारको कामना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् बाग्मती सरकारका पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपालका रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म ठूलो जनधन तथा पूर्वाधारको क्षति पुर्याएको बताए । उनले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री आगामी अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुने क्रममा नेपालले जलवायु परिवर्तन र हिमताल फुट्ने जोखिमका कारण बेहोर्नुपरेको क्षतिबारे सशक्त रूपमा कुरा राख्नुपर्ने उनले बताए ।
नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाली कांग्रेसका नेता कविर राणा, बाग्मती प्रदेश सांसद एवम् पूर्व प्रदेश मन्त्री सुरेश श्रेष्ठ लगायतले बोलेका थिए ।









Facebook Comments