
काठमाडौं । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १ः०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न स्थानबाट १ हजार ३५७ शव फेला परेका जनाएको हो । जसमा चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्गहरू फेला परेका छन्। फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।
हालसम्म कुल ५ हजार ३२६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन्। जसमा रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन्। बेपत्ता हुनेहरूमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ र बैङ्क तथा वित्तीय संस्थाका २६ जना कर्मचारी छन्। यसका अतिरिक्त नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक र करिब ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ। जसमध्ये नेपाली सेनाबाट ३ हजार ४०४, सशस्त्र प्रहरीबाट ३ हजार ९६ र विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको छ। अस्पतालमा उपचाररतमध्ये २४२ जना डिस्चार्ज भइसकेका छन्।









Facebook Comments