काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहे पनि नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरी बलका १२ जना अझै बेपत्ता छन्। सुरक्षा निकायले बेपत्ता व्यक्ति तथा सुरक्षाकर्मीको खोजीलाई प्राथमिकतामा राख्दै हवाई, जमिन र सुरुङ क्षेत्रमा अभियान सञ्चालन गरिरहेको जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भोटेकोशी बाढी तथा खोज तथा उद्धारसम्बन्धी पत्रकार सम्मेलनमा नेपाली सेनाका राजाराम बस्नेतले बाढीपछि बेपत्ता भएकाको खोजीका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिएको जानकारी दिए।

ad

उनका अनुसार नेपाली सेनाले सरकारको निर्देशन तथा सम्बन्धित सुरक्षा निकाय र अन्य सरोकारवाला संस्थासँग समन्वय गरी उद्धार अभियान अघि बढाइरहेको छ। खोज तथा उद्धारको कामलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा विभाजन गरिएको छ।

परराष्ट्र मन्त्रालयको समन्वयमा मित्रराष्ट्र तथा छिमेकी मुलुकबाट प्राप्त सहयोगलाई समेत सुरुङ उद्धारमा प्रयोग गरिएको सेनाले जनाएको छ। विदेशी विशेषज्ञ तथा प्राविधिक टोलीसँग सहकार्य गर्दै जोखिमपूर्ण सुरुङ क्षेत्रमा खोजीलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बस्नेतले बताए।

भोटेकोशी बाढीपछि सुरुङ क्षेत्रमा उद्धार कार्य सहज छैन। बाक्लो हिलो, माटो र लेदोका साथै बाढीसँगै बगेका ठूला ढुंगा तथा चट्टानका अवशेषले उद्धारमा थप चुनौती सिर्जना गरेको सेनाले जनाएको छ।

कतिपय स्थानमा सुरुङको प्रवेश बिन्दुसम्म पुग्नसमेत ठूलो मेहनत गर्नुपरेको छ। बस्नेतका अनुसार त्रिशूली–३ ए आयोजनाको पावरहाउसतर्फ जाने प्रवेश बिन्दु पत्ता लगाउन करिब २० मिटर गहिराइसम्म खन्नुपरेको थियो।

त्रिशूली–३ ए को पावरहाउस सुरुङभित्र करिब १७५ मिटरको दूरीमा रहेको उनले जानकारी दिए। यस्तो अवस्थाले सुरुङभित्र बेपत्ताको खोजी तथा उद्धार थप जटिल बनेको छ।

त्यसमा सीमित भौगोलिक क्षेत्र, हवाई उडानका लागि कठिन भूगोल र मौसममा आउने निरन्तर परिवर्तनले पनि उद्धार अभियानलाई प्रभावित गरिरहेको सेनाको भनाइ छ।

दैनिक १५ देखि २२ हेलिकप्टर परिचालन
उद्धार अभियानलाई तीव्र बनाउन नेपाली सेनाले प्रभावित क्षेत्रमा दैनिक १५ देखि २२ वटासम्म हेलिकप्टर परिचालन गरिरहेको जनाएको छ।

सानो र साँघुरो भौगोलिक क्षेत्रमा हेलिकप्टर उडान गर्नुपर्ने भएकाले उडानमा विशेष सावधानी अपनाइएको छ। उपलब्ध हवाई साधनको अधिकतम उपयोग गर्दै खोज तथा उद्धारलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।

बेपत्ता नेपाली सैनिकको खोजीमा पनि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको बस्नेतले बताए।

सशस्त्रका ४ हजार २०३ जनशक्ति परिचालित
भोटेकोशी बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले पनि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

सशस्त्र प्रहरीका अनुसार हालसम्म ४ हजार २०३ जना जनशक्ति विपद् प्रभावित क्षेत्रमा खटिएका छन्। तीमध्ये ७७४ जना विभिन्न विशेष उद्धार तालिम प्राप्त जनशक्ति हुन्।

विशेष तालिम प्राप्त टोलीमा कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु, मेडिकल, ड्रोन, रोप रेस्क्यु, स्विफ्ट वाटर रेस्क्यु, डेड बडी म्यानेजमेन्ट, डिजास्टर म्यानेजमेन्ट र हाइअल्टिच्युड रेस्क्यूसम्बन्धी दक्ष जनशक्ति रहेका छन्।

सशस्त्र प्रहरीका रविन राजका अनुसार यी विशेष टोलीले नेपाली सेना र नेपाल प्रहरीसँग संयुक्त रूपमा तथा आवश्यकताअनुसार छुट्टाछुट्टै रूपमा खोज तथा उद्धार र राहत वितरणको काम गरिरहेका छन्।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले नुवाकोट, रसुवा र धादिङका विभिन्न १३ स्थानमा अस्थायी बेस स्थापना गरेको छ।

ती बेसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको काम भइरहेको छ। उद्धारकर्मीको सहज परिचालन र प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री पुर्‍याउन अस्थायी बेस प्रभावकारी भएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सात स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। तीमध्ये रसुवामा दुई र नुवाकोटमा पाँचवटा स्वास्थ्य शिविर छन्।

सञ्चालित स्वास्थ्य शिविरबाट हालसम्म २ हजार ९७० जना लाभान्वित भएको सशस्त्र प्रहरीले जनाएको छ।

रसुवामा ११३ र नुवाकोटमा ८६ हवाई उडान
राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन सशस्त्र प्रहरीले हेलिकप्टरमार्फत निरन्तर उडान गरिरहेको छ।

रसुवामा मात्रै हालसम्म ११३ वटा हवाई उडान गरिएको छ। ती उडानमार्फत जिल्लाका १०० स्थानमा राहत सामग्री पुर्‍याइएको र करिब १४ हजार नागरिक लाभान्वित भएको सशस्त्र प्रहरीको विवरण छ।

त्यस्तै नुवाकोटमा ८६ वटा हवाई उडानमार्फत ५० स्थानमा राहत वितरण गरिएको छ। उक्त राहतबाट करिब ८ हजार ४०० जना लाभान्वित भएको जनाइएको छ।

भोटेकोशी बाढीमा सशस्त्र प्रहरीका १३ जना बेपत्ता भएका थिए। तीमध्ये एक जनाको शव फेला परिसकेको छ भने १२ जना अझै बेपत्ता छन्।

उनीहरूको खोजीलाई पनि प्राथमिकताका साथ अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। नेपाली सेना र नेपाल प्रहरीसँगको समन्वयमा सम्भावित स्थानमा खोजी जारी राखिएको छ।

सुरुङभित्र खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले छुट्टै जनशक्ति परिचालन गरेको छ।

नुवाकोटमा भदौ १७ गते ६३ जना, १८ गते ४१ जना, २० गते १०४ जना र २१ गते २७ जना टनेल रेस्क्यु जनशक्ति परिचालन गरिएको थियो।

त्यस्तै रसुवामा भदौ १७ गते ६० जना, १८ गते ३९ जना र २० गते ९९ जना टनेल उद्धारका लागि परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सुरुङभित्र बाक्लो लेदो, पानी, माटो तथा ढुंगा थुप्रिएका कारण खोजी कार्य जोखिमपूर्ण भए पनि उपलब्ध जनशक्ति र उपकरण प्रयोग गरेर अभियानलाई निरन्तरता दिइएको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

सुरक्षा निकायले बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजी, घाइतेको उद्धार, राहत सामग्री वितरण र स्वास्थ्य सेवासहितका कामलाई एकसाथ अघि बढाएका छन्।

सुरुङ तथा दुर्गम क्षेत्रमा उद्धारको चुनौती कायम रहेकाले उपलब्ध प्रविधि, विदेशी विशेषज्ञ र सुरक्षा जनशक्तिको अधिकतम प्रयोग गर्दै बेपत्ताको खोजीलाई निरन्तरता दिइएको सम्बन्धित निकायहरूले बताएका छन्।