
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा दुर्गम क्षेत्रमा बेपत्ता भएकाको खोजी र उद्धार थप कठिन बनेपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग मागेको छ। सुरुङभित्र जमेको बाक्लो लेदो र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण परम्परागत विधिबाट उद्धार गर्न कठिन भएपछि सरकारले अत्याधुनिक उपकरण उपलब्ध गराउन मित्रराष्ट्र तथा विदेशी नियोगसँग आग्रह गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार आवश्यक उद्धार सामग्रीको सूची तयार गरी विदेशी मुलुक तथा नियोगमार्फत सहयोगका लागि अनुरोध गरिएको छ। विशेषगरी सुरुङ र पहिरोग्रस्त क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा बेपत्ताको सम्भावित स्थान पत्ता लगाउन उच्च क्षमताका ड्रोन र LiDAR प्रविधिको आवश्यकता औँल्याइएको छ।
सुरुङभित्रको बाक्लो लेदोमा प्रवेश गर्न र उद्धारकर्मीलाई सुरक्षित रूपमा काम गर्न मड तथा टनेल रेस्क्यु सुट पनि आवश्यक रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, सुरुङ तथा डुबानमा परेका स्थानमा थुप्रिएको पानी र लेदो हटाउन उच्च क्षमताका पम्प उपलब्ध गराउन पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिएको छ।
बाढीका कारण क्षतिग्रस्त पुलका कारण प्रभावित क्षेत्रमा आवतजावतमा समस्या देखिएपछि तत्काल जडान गर्न सकिने बेली ब्रिजलाई समेत सहयोगको सूचीमा राखिएको छ। शव पहिचानका लागि डीएनए परीक्षण किट र ल्याब फ्रिजर तथा विपद्पछिको सम्भावित सरुवा रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री पनि सरकारले माग गरेको छ।
सुरुङ उद्धारमा विदेशी विशेषज्ञ टोली
सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंकाबीच उद्धार कार्यलाई तीव्र बनाउन नेपालले मित्रराष्ट्रका विशेष टोलीको सहयोग लिइरहेको छ। नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेषज्ञ टनेल उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित छन्।
उनीहरूले नेपाली सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीसँग सहकार्य गर्दै जोखिमपूर्ण क्षेत्रमा खोजी तथा उद्धार गरिरहेका छन्। माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, चिलिमे, रसुवागढी र लाङटाङलगायत जलविद्युत् आयोजनालाई खोज तथा उद्धारका दृष्टिले प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
प्रभावित क्षेत्रमा थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन भइरहेको छ। अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त ड्रोन तथा अन्य उच्च क्षमताका उपकरण पनि खोजी अभियानमा प्रयोग भइरहेका छन्।
शव पहिचानमा फरेन्सिक सहयोग
बाढीपछि भेटिएका तर पहिचान खुल्न नसकेका शवको पहिचानका लागि पनि नेपालले विदेशी विशेषज्ञको सहयोग लिएको छ। भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक विशेषज्ञले नेपाल प्रहरीसँग समन्वय गरी डीएनए नमुना संकलन र परीक्षणमा सहयोग गरिरहेका छन्।
वैज्ञानिक विधिबाट शव पहिचान गर्न सके परिवारलाई जानकारी गराउन तथा राहत र पुनःस्थापनाको प्रक्रिया अघि बढाउन सहज हुने सरकारको अपेक्षा छ।
थप सहयोगका लागि कूटनीतिक पहल
विपद् उद्धार र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारले कूटनीतिक पहललाई पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशका समकक्षीसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोगबारे संवाद गरिरहेका छन्।
मन्त्रालयका अनुसार सोमबार पनि विभिन्न तहमा कूटनीतिक सम्पर्क अघि बढाइएको थियो। माल्दिभ्सकी परराष्ट्रमन्त्री इरुथिशम आदमसँग समेत सहयोग र सहकार्यका विषयमा संवाद भएको जनाइएको छ।
सरकारले तत्काल उद्धार र राहतसँगै बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि समेत अन्तर्राष्ट्रिय प्राविधिक र आर्थिक सहयोग जुटाउने तयारी गरेको छ।









Facebook Comments