काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै नापी कार्यालय कलंकीका नापी अधिकृत हिरालाल पार्धे र तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा उनीहरूविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

ad

आयोगका अनुसार भूमि प्रशासन कार्यालय (साविक भूमिसुधार तथा मालपोत कार्यालय) कलंकीमा दर्ता श्रेस्ता कायम रहेको साविक मच्छेगाउँ–९ग (हाल चन्द्रागिरी–९ग) मा रहेको  जग्गा हालसाबिक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै श्रेष्ठ र पार्धेले सेवाग्राहीसँग घुस रकम बार्गेनिङ गरेका थिए।

नियमपूर्वक गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिए ५० हजार रुपैयाँ घुस मागेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ। आयोगका अनुसार उनीहरूले घुस रकम आफैं नबुझी कार्यालय सहयोगीलाई दिन लगाउने सहमति गरेका थिए।