काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३३९ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। जिल्लागत विवरणअनुसार रसुवामा १६३, नुवाकोटमा १९३, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० शव फेला परेका छन्।

ad

फेला परेका शवको पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। अहिलेसम्म मृतकबाट १ हजार १८१ र आफन्तबाट १ हजार १८६ गरी कुल २ हजार ३६७ वटा डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

पहिचान प्रक्रिया पूरा गर्नुअघि आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी १ हजार ३७ शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पहिचान हुन बाँकी १ हजार ३ सय शवको विवरणसमेत प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

चार हजारभन्दा बढी अझै बेपत्ता
बाढीपछि अझै ४ हजार ४४ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि प्रभावित क्षेत्रमा निरन्तर उद्धार तथा खोजी अभियान सञ्चालन भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणसँगै शव व्यवस्थापनलगायतका कामका लागि ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।

यसैबीच, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ९८ जना प्रभावितलाई राखिएको प्रहरीले जनाएको छ।

जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिँदै
प्रहरीले बाढी तथा पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई पनि निरन्तरता दिएको छ। स्थानीय बासिन्दा तथा विभिन्न सरकारी र गैरसरकारी निकायसँग समन्वय गरी उद्धार तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत सुरक्षा निकाय र स्थानीय संयन्त्रको सहकार्यमा भइरहेको छ।

विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति व्यहोरेका प्रभावित जिल्लामा खोजी, उद्धार र शव व्यवस्थापनको काम अझै जारी रहेको प्रहरीले जनाएको छ।