लुभेन । नेपाली कांग्रेसको प्रवासमा रहेको संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमले सामाजिक तथा परोपकारी कार्यअन्तर्गत रसुवा वाढी पिडीतका लागि ५ लाख ४२ हजारभन्दा बढी राहत रकम हस्तान्तरण गरेको छ ।

जनसम्पर्क समितिका सभापति देवु शर्मा पौडेलका अनुसार सामाजिक सहयोगलाई निरन्तरता दिँदै नेपाली कांग्रेसको केन्द्रीय विपद् कोष र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गरी उक्त  रकम जम्मा गरिएको हो । 

ad

समितिले पार्टीको केन्द्रीय राहत कोषमा रु ४ लाख १ हजार १ सय ११ र नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १ लाख ४१ हजार १ सय ३७ गरी कुल रु ५ लाख ४२ हजार २ सय ४८ हस्तान्तरण गरिएको छ ।

प्रवासमा रहेका नेपालीहरूबाट संकलित उक्त रकमले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनर्नस्थापनाका साथै संस्थागत अभियानमा थोरै भए पनि सहयोग पुग्ने विश्वास लिइएको छ । सभापति पौडेलले मातृभूमिको दुःख–सुखमा मलम लगाउने उद्देश्यले बेल्जियमस्थित नेपाली समुदायलाई ऐक्यबद्ध बनाउँदै सहयोग रकम संकलन गरिएको बताए ।

‘हामी प्रवासमा रहे पनि हाम्रो मन र दायित्व सधैँ नेपालमै हुन्छ,’ पौडेलले भने, ‘विपदको समयमा स्वदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइलाई सानो भए पनि राहत पुगोस् भन्ने हेतुले यो सहयोग जुटाएका हौँ ।’

नेपाली जनसम्पर्क समिति बेल्जियमले यसअघि पनि नेपालमा भएका विभिन्न प्राकृतिक विपत्ति, महामारी तथा मानवीय संकटका बेला निरन्तर आर्थिक र भौतिक सहयोग पुर्‍याउँदै आएको छ । स्वदेशमा पर्ने हरेक संकटमा प्रवासबाट दायित्व निर्वाह गर्न समिति सदैव तत्पर रहने र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता पनि समितिले व्यक्त गरेको छ ।