नेपाली जनसम्पर्क समिति, साइप्रसको तेस्रो अधिवेशनबाट पुष्पा मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति  सर्वसम्मत चयन भएको छ । मिश्र यसअघि पनि सोही जिम्मेवारीमा रहेकी थिइन् । आइतबार भएको अधिवेशनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन समितिका संयोजक विन्दु दुलालले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको उपसभापति पदमा मायादेवी वलि खत्री र भुवन खड्का चयन भएका छन् । त्यसैगरी, महामन्त्रीको जिम्मेवारी प्रकाश खड्का र पार्वती सापकोटाले सम्हाल्ने भएका छन् भने सहमहामन्त्रीमा कैलास बस्नेत र सिताराम ढुगाना सर्वसम्मत निर्वाचित भए । समितिको कोषाध्यक्षमा रिता थापा चयन भइन् ।

ad

कार्य समिति सदस्यहरूमा सुमन कार्की, सुदर्शन नेगि, इन्दिरा बानियाँ र रामकृष्ण दाहाल निर्वाचित भए । साइप्रसमा ५०० बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य छन् ।

महाधिवेशनको नेपाली कांग्रेसकी सह महामन्त्री डा डिला संग्रौला पन्तले उद्घाटन गरेकी थिइन् ।

नेपाली जनसम्पर्क समिति साइप्रसको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संग्रौलाले साइप्रसमा रहेका घरेलु कामदार, विशेषगरी महिलाहरूमाथि हुने श्रम शोषण, अत्यधिक कार्यबोझ र घरेलु हिंसाजस्ता गम्भीर समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् ।

साइप्रसमा नेपालको स्थायी दूतावास नहुँदा इजरायलस्थित दूतावासबाट प्रदान गरिने सीमित घुम्ती सेवाले दैनिक समस्या हल गर्न नसकेको उल्लेख गर्दै उनले नियमित र प्रभावकारी कन्सुलर सेवाको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।

साथै, वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र अत्यधिक शुल्क असुली नियन्त्रण गर्दै श्रमिकलाई सुरक्षित र सूचित रूपमा मात्र पठाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् ।

यसैगरी सहमहामन्त्री संग्रौलाले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति गहिरो दुःख व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरूलाई राहत र पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाउन आग्रह गरिन् । राजनीति र वैचारिक सीमाभन्दा माथि उठेर बाढीपीडितका लागि पारदर्शी रूपमा सहयोग जुटाउन जनसम्पर्क समितिलाई आह्वान गर्दै उनले संकलित रकमको शतप्रतिशत उपयोग र पारदर्शिता सुनिश्चित हुनुपर्ने बताइन् ।

डा. संग्रौलाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ चरणमा प्रवेश गरिसकेकाले अब नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने औंल्याइन् ।

कांग्रेसले इतिहासको गौरवमा मात्र सीमित नरहेर नयाँ पुस्ता, युवा, महिला र श्रमिकका बदलिँदा अपेक्षालाई समेट्नुपर्ने उनको भनाइ थियो ।