काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिक तथा प्राविधिकको उद्धार प्रयास जारी छ। घटनास्थलमा पुग्ने सडक तथा अन्य भौतिक संरचना बाढीले क्षतिग्रस्त भएपछि उद्धार टोलीलाई आवश्यक उपकरण र सामग्री लैजान कठिनाइ भएको छ।

साँघुरो सुरुङभित्र जम्मा भएको माटो र भग्नावशेष हटाउँदै उद्धार टोली अगाडि बढिरहेको छ। नेपाली सेना र भारतीय सेनाका २१ जना उद्धारकर्मी प्रत्यक्ष रूपमा सुरुङभित्र परिचालन भएका छन्।

ad

उद्धारका क्रममा करिब २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर क्षेत्र सफा गरिएको जनाइएको छ। सुरुङभित्रको बाँकी भागमा जमेको माटो तथा संरचनाका अवशेष हटाउने काम हातैले भइरहेको छ।

सुरुङको तापक्रम, साँघुरो संरचना र भित्र जम्मा भएको भग्नावशेषका कारण मानवीय श्रमबाट मात्र उद्धार पूरा गर्न कठिन हुने देखिएपछि ठूला उपकरण घटनास्थलमा पुर्‍याउने तयारी थालिएको छ।

यसका लागि स्याफ्रुदेखि आयोजनाको पावरहाउस पोर्टलसम्म पुग्ने नयाँ पहुँच सडक निर्माण सुरु गरिएको छ। सडकमार्फत एक्स्काभेटरलगायतका उपकरण घटनास्थलसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यसैगरी, सुरुङको बाटो हुँदै एक्स्काभेटर भित्रै प्रवेश गराउने विकल्पमा पनि काम भइरहेको छ। उक्त विकल्प कार्यान्वयनका लागि सुरुङमा बाँकी रहेको माटो हटाउने कामलाई समेत निरन्तरता दिइएको छ।

बाढीपछि सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले उद्धार सामग्री र उपकरण ओसार्न थप कठिनाइ भइरहेको छ। घटनास्थलमा ठूला हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उद्धार उपकरण पुर्‍याउने प्रयास भइरहेको छ।

प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच उद्धारलाई प्राथमिकतामा राख्दै पहुँच सडक विस्तार, सुरुङ सफाइ र आवश्यक उपकरण परिचालनलाई तीव्र बनाइएको सम्बन्धित पक्षले जनाएको छ।