काठमाडौं। रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्‍याएपछि जारी खोज तथा उद्धार अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पछिल्ला दुई दिनमा चार जनालाई जीवितै उद्धार गरेका छन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिक तथा जलविद्युत् आयोजनाका कर्मचारीको खोजीका क्रममा सुरक्षा टोलीले निरन्तर उद्धार अभियान सञ्चालन गरिरहेको छ।

ad

नेपाली सेनाको नेतृत्वमा शुक्रबार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जना प्राविधिक कर्मचारीको उद्धार गरिएको थियो। करिब ११ घण्टासम्म लगातार गरिएको प्रयासपछि आयोजनामा कार्यरत सञ्जय साह र कवीरजङ्ग महर्जनलाई जीवितै बाहिर निकालिएको हो।

उद्धारका लागि नेपाली सेनाको विशेष विपद् व्यवस्थापन खोज तथा उद्धार टोलीसँगै इन्जिनियर, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक, आयोजनाका विज्ञ र भूगर्भविद्समेत परिचालन भएका थिए।

त्यसपछि नेपाली सेना नेतृत्वको टोलीले एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरेको छ। त्यस्तै, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नुवाकोटको विदुरमा बाढी तथा गेग्रानले पुरिएको घरबाट चन्द्रिका श्रेष्ठलाई जीवितै बाहिर निकालेको छ।

बाढी गएको लामो समयपछि पनि जीवित व्यक्ति फेला परेपछि उद्धारमा संलग्न टोलीको सक्रियताको प्रशंसा भएको छ। जोखिमपूर्ण संरचना, सुरुङ र बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य आफैँमा चुनौतीपूर्ण रहेकाले सुरक्षा निकायले उच्च सतर्कताका साथ अभियान अघि बढाइरहेका छन्।

भदौ १० गते हिमपहिरोसहित ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको थियो। बाढीले घर तथा कार्यालय, जलविद्युत् आयोजना, सडक, पुल र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। यसको प्रभाव धादिङ र चितवनसम्म देखिएको छ।

जलविद्युत् आयोजना तथा अन्य क्षेत्रमा कार्यरत केही व्यक्ति अझै सम्पर्कविहीन रहेको अवस्थामा खोजी तथा उद्धार कार्य जारी छ। नेपाली सेना नेतृत्वको टोलीले प्रभावित क्षेत्रमा उपलब्ध सूचना, प्राविधिक सुझाव र सम्बन्धित निकायसँगको समन्वयका आधारमा खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामा भएको उद्धारबारे उद्धार टोलीका प्रमुख प्रमुख सेनानी गङ्गा बरालले कठिन परिस्थितिमा पनि निरन्तर प्रयास गर्दा सफलता प्राप्त भएको बताएका छन्। उनका अनुसार बिहीबार साँझ करिब ६ बजेदेखि सुरु भएको उद्धार अभियान ११ घण्टासम्म निरन्तर सञ्चालन गरिएको थियो।

उनले विपद्को समयमा धैर्य, इच्छाशक्ति र समन्वयका साथ काम गरे कठिन अवस्थामा समेत उद्धार सम्भव हुने बताए।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाल सरकारको निर्देशनमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा खोज तथा उद्धारलाई तीव्रता दिएका छन्। प्रभावित क्षेत्रमा विशेष उद्धार टोलीलाई निरन्तर परिचालन गरिएको उनले जानकारी दिए।

बाढीबाट भएको क्षति व्यापक रहेकाले सम्पर्कविहीन तथा जोखिममा रहेका व्यक्तिको खोजीलाई प्राथमिकतामा राखेर उद्धार अभियान जारी राखिएको सुरक्षा निकायले जनाएको छ।