नुवाकोट । बाढीले घर पुरिएपछि परिवारले मृत्यु भइसकेको ठानेर काजकिरिया सुरु गरिसकेको अवस्थामा नुवाकोटको बेत्रावतीमा एक महिलाको ११ दिनपछि जीवितै उद्धार भएको छ।

विदुर नगरपालिका–१० बेत्रावती बजारमा भोटेकोशी नदीमा आएको बाढी र त्यससँगै आएको गेग्रानले पुरिएको चारतले घरको चौथो तलाबाट ६४/६५ वर्षीया चण्डिका श्रेष्ठको शनिबार जीवितै उद्धार गरिएको हो।

ad

खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले क्षतिग्रस्त संरचनामा खोजी गर्ने क्रममा घरको माथिल्लो भागमा पुगेपछि भित्रबाट आवाज सुनेको थियो। प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले पर्खालमा सानो प्वाल बनाएर हेर्दा महिलाले ‘बचाऊ–बचाऊ’ भन्दै गुहार मागेको आवाज सुनेपछि उद्धारको प्रयास अघि बढाएको थियो।

त्यसपछि पर्खाल फुटाएर उनलाई बाहिर निकालिएको हो। उद्धारपछि चण्डिकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याइएको छ। अस्पतालमा उनको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

चण्डिका जीवितै भेटिएपछि परिवारका सदस्यसमेत आश्चर्यमा परेका छन्। उनका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढीपछि परिवारले लगातार खोजी गरे पनि आठौँ दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेको थिएन।

‘अब उहाँ जीवित हुनुहुन्न’ भन्ने निष्कर्षमा पुगेपछि परिवारले कुस राखेर दाहसंस्कारसमेत गरेको र त्यसपछि काजकिरिया सुरु गरेको रमेशमानले अस्पतालमा पत्रकारहरूसँग बताएका छन्।

बाढी आएको दिनदेखि नै परिवारका सदस्य चण्डिकाको खोजीमा बेत्रावती क्षेत्र पुगेका थिए। बाटो बाढीले क्षतिग्रस्त बनाएपछि खोजीमा समेत कठिनाइ भएको थियो। उनका ज्वाइँ गाडी र मोटरसाइकल लिएर खोज्न गएको भए पनि सडक अवरुद्ध भएपछि घटनास्थलसम्म पुग्न नसकेको परिवारको भनाइ छ।

त्यसैबीच तिब्बततर्फ अर्को ताल फुटेर बाढी आएको खबर आएपछि परिवार थप खोजीका लागि विभिन्न क्षेत्रमा पुगेको थियो। तर, आफ्नै घरसम्म पुगेर खोजी गर्नसमेत सम्भव नभएपछि परिवारले चण्डिकाको मृत्यु भएको ठानेको थियो।

बाढीले बेत्रावती बजारका धेरै घरमा क्षति पुर्‍याएको छ। कतिपय मानिस बाढीमा बगेका छन् भने केही घर तथा संरचनाभित्र पुरिएको अवस्थामा मृत फेला परेका छन्। विपद्को ११औँ दिनमा एउटै घरभित्रबाट जीवित व्यक्ति फेला पर्नुलाई उद्धार टोलीले असाधारण घटनाका रूपमा लिएको छ।