नुवाकोट । निर्माणाधीन ३७ मेगावाट क्षमताको त्रिशूली–३ 'बी' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको खोजीका लागि टोली ४२६ मिटर भित्रसम्म पुगेको छ। भोटेकोशीमा आएको भीषण बाढीका कारण आयोजना क्षेत्र जलमग्न भई मानिसहरू सम्पर्कविहीन भएपछि सैनिक तथा गैरसैनिक टोली उद्धारमा जुटेको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सिम्ले नजिकै रहेको आयोजना स्थलमा ८९ जना सैनिक र ३ जना गैरसैनिक गरी कुल ९२ जनाको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। हाल आयोजनाको क्वार्टर र सुरुङ (टनेल) भित्र गरी करिब १२२ जना मानिसहरू फसेको प्रारम्भिक आकलन गरिएको छ।

ad

सुरुङभित्र उद्धार टोलीको पहुँच विस्तार भइरहँदा बाहिर रहेको आयोजनाको कार्यालय र कर्मचारी निवास (क्वार्टर) सम्म पुग्ने बाटो सफा गर्न स्काभेटर प्रयोगको प्रयास भइरहेको छ।

उद्धार कार्यलाई द्रुत गतिमा अघि बढाउन आयोजना प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल आफैँ घटनास्थलमा खटिएका छन्। नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य सेयर लगानी रहेको यो आयोजना प्राधिकरणकै सहायक कम्पनीमार्फत निर्माण भइरहेको छ।

जटिल र जोखिमपूर्ण स्थितिमा पनि उद्धार टोलीले निरन्तर खोजी तथा राहतको काम जारी राखेको छ।