दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरो खसेर चौलानी नदीको बहाव अवरुद्ध भएको छ। पहिरोका कारण नदी करिब आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

प्रशासनका अनुसार नदीमाथि पहिरो खस्ने क्रम अझै रोकिएको छैन। थप पहिरो खसेर चौलानी नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

ad

नदी थुनिएर पानीको बहाव एक्कासि बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्भावित जोखिमबाट जोगिन प्रशासनले आग्रह गरेको हो।

विपद्सम्बन्धी सूचना वा जानकारी आवश्यक परे ११५५ मा सम्पर्क गर्न सकिनेछ। विपद्का बेला सहयोग आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ हटलाइनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।