काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २९३ जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बिहीबार अपराह्नसम्म नेपालका विभिन्न जिल्ला तथा भारतमा गरी उक्त संख्यामा शव भेटिएका हुन्।

प्रहरीका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ शव फेला परेका छन्। भारतमा भेटिएका १८ शव भने नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।

ad

बाढीमा घाइते भएकामध्ये उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ। तीमध्ये एक जनाको त्रिवि शिक्षण अस्पताल र अर्का एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

१ हजार ३० शव व्यवस्थापन
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर हालसम्म १ हजार ३० शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमध्ये २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको लिंग पहिचान खुल्न सकेको छैन।

शव पहिचानका लागि मृतकका तर्फबाट १ हजार २६० तथा आफन्तबाट ८४६ गरी कुल २ हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ।

प्रहरीका अनुसार पहिचान हुन नसकेका १ हजार २६३ शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

उद्धार र खोजीमा झण्डै ८ हजार प्रहरी
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका काममा हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ।

प्रहरीले अझै बेपत्ता रहेका ४ हजार ८९८ जनाको खोजी जारी राखेको जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ६५५ जनालाई राखिएको छ।

बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीय तह, विभिन्न सरकारी निकाय र स्थानीयवासीसँगको समन्वयमा उद्धार तथा खोजी अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। बाढीका कारण अवरुद्ध भएका सडक तथा अन्य मार्ग खुलाउने काम पनि जारी रहेको प्रहरीको भनाइ छ।