
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्गमा यातायात प्रभावित भएको छ। कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार धादिङको पृथ्वी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग, नुवाकोटको विदुर–लाच्याङ सडक, लमजुङको बेँसीसहर–मनाङ सडक, मुगुको नाग्म–गमगढी सडक र बैतडीको गोठालापानी–झुलाघाट सडकखण्डमा बाढी तथा पहिरोका कारण आवागमन प्रभावित भएको छ।
पृथ्वी राजमार्गका दुई ठाउँमा यातायात ठप्प
धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएको छ। सडकमा क्षति पुगेपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
यस्तै, सोही राजमार्गको गजुरी गाउँपालिका–२ परेवाभिरमा पनि बाढीले सडकको तल्लो भाग कटान गरेको छ। करिब २० देखि २५ मिटर सडक भासिएपछि यहाँबाट समेत सवारी आवागमन बन्द भएको छ।
रसुवाको पासाङल्हामु राजमार्ग पूर्ण अवरुद्ध
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवाको पासाङल्हामु राजमार्गमा ठूलो क्षति पुर्याएको छ। त्रिशूली नदी किनारको अधिकांश सडक भाग कटान भएपछि उक्त राजमार्गमा नियमित यातायात सञ्चालन हुन सकेको छैन।
प्रहरीले स्याफ्रुबेँसी पुग्न वैकल्पिक सडक प्रयोग गर्न सकिने जनाएको छ। काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लाच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
नुवाकोटमा पहिरो, राति आवागमनमा रोक
नुवाकोटको विदुर–लाच्याङ सडकखण्डअन्तर्गत सूर्यगढी गाउँपालिका–१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
यस्तै, टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सवारीसाधनको रातिको आवागमनमा रोक लगाइएको छ। उक्त सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नपाइने प्रहरीले जनाएको छ।
लमजुङ, मुगु र बैतडीमा पनि सडक बन्द
लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षापछि पहिरो खसेको छ। पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मुगुको नाग्म–गमगढी सडकखण्डमा वर्षाका कारण ढुंगा, माटो र लेदोसहितको पहिरो आएपछि यातायात रोकिएको प्रहरीले जनाएको छ।
बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पनि पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ।
उता, इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो जम्मा भएर यातायात प्रभावित भएको थियो। अहिले भने उक्त सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा आएका छन्।
मकवानपुरमा सवारीअनुसार वैकल्पिक रुट
मकवानपुरमा विभिन्न राजमार्ग प्रभावित भएपछि प्रहरीले सवारीको प्रकृति र गन्तव्यअनुसार वैकल्पिक मार्गको व्यवस्था गरेको छ।
१० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ। काठमाडौंबाट फर्किँदा भने कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
१४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्न सक्नेछन्। काठमाडौं जाने क्रममा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
बीपी राजमार्गमा राति आवागमन बन्द
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बीपी राजमार्गमा सवारी आवागमन बन्द रहनेछ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।
अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह
बाढी र पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेको छ।
यात्रा गर्नैपर्ने अवस्थामा तोकिएको समय र निर्धारित वैकल्पिक मार्ग प्रयोग गर्न, जोखिमपूर्ण स्थानमा ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रहरीले अनुरोध गरेको छ।
लगातार वर्षा भइरहेकाले अहिले सञ्चालनमा रहेका सडकखण्डमा समेत जुनसुकै बेला बाढी, पहिरो तथा सडक कटानको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। त्यसैले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न सर्वसाधारणलाई आग्रह गरिएको छ।









Facebook Comments