
काठमाडौं । शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा पर्ने भएको छ। संघीय सरकारले भदौ २३ गते सार्वजनिक बिदा घोषणा गरेपछि यसअघि नै तय भएका बिदासँग जोडिँदा लगातार पाँच दिन बिदा परेको हो।
भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा छ। त्यसपछि भदौ २० गते शनिबार र २१ गते आइतबार परेकाले नियमित साप्ताहिक बिदा हुनेछ।
त्यसपछि भदौ २२ गते बागमती प्रदेशका तीन जिल्लामा स्थानीय पर्वका अवसरमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) का अवसरमा चितवन, धादिङ र मकवानपुरमा उक्त दिन बिदा दिने निर्णय गरेको हो।
यससँगै भदौ १९ देखि २३ गतेसम्म लगातार पाँच दिन बिदा हुनेछ। यद्यपि भदौ २२ गतेको बिदा भने चितवन, धादिङ र मकवानपुरमा मात्र लागू हुनेछ।
भदौ २३ मा देशभर बिदा
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारको उक्त निर्णयले शुक्रबारदेखि सुरु हुने लामो बिदालाई थप लम्ब्याएको हो। भदौ १९ गतेको पर्व बिदा, त्यसपछिका दुई दिनको नियमित साप्ताहिक बिदा र सम्बन्धित जिल्लाको स्थानीय बिदासँगै भदौ २३ गतेको सार्वजनिक बिदा जोडिएको छ।
पाँच दिनको बिदापछि सार्वजनिक बिदाबारे बहस
लगातार पाँच दिन सार्वजनिक बिदा पर्ने भएपछि नेपालमा सार्वजनिक बिदाको संख्या र व्यवस्थापनबारे फेरि बहस सुरु भएको छ।
विशेष परिस्थिति र समुदायका महत्वपूर्ण पर्वका लागि दिइने बिदा आवश्यक भए पनि सार्वजनिक बिदाको संख्या धेरै हुँदा सरकारी सेवा, निजी क्षेत्र तथा आर्थिक गतिविधिमा असर पर्न सक्ने भन्दै बिदा व्यवस्थापनबारे पुनर्विचार गर्नुपर्ने आवाज उठ्दै आएको छ।
विशेष परिस्थितिमा थप बिदा घोषणा गरिने क्रम बढ्दै गएमा नियमित सार्वजनिक बिदा कटौती गरेर सन्तुलन कायम गर्नुपर्ने तर्कसमेत सार्वजनिक बहसमा उठ्न थालेको छ।









Facebook Comments