सिन्धुपाल्चोक  । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीमध्ये ११४ जना बिहीबार तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेका छन्। चिनियाँ पक्षले सुरक्षित रहेका नेपाली नागरिकलाई तातोपानीको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनले नेपाल फर्काइएका नागरिकको राहदानी नम्बरलगायत आवश्यक विवरणसहितको सूची पनि नेपाली पक्षलाई उपलब्ध गराएको छ।

ad

उनले बिहीबार विभिन्न जिल्लाका ११४ नेपालीलाई चिनियाँ प्रतिनिधिले लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीलाई हस्तान्तरण गरेको जानकारी दिए।

बाढीपछि चीनतर्फ रोकिएका नेपालीलाई स्वदेश फर्काउन दुवै देशका सम्बन्धित निकायबीच समन्वय भइरहेको छ। चिनियाँ पक्षले सुरुमा ११४ जनाको विवरण पठाए पनि पछि नेपाल फर्किने नेपालीको संख्या १४७ पुग्ने जानकारी दिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चीनतर्फबाट थप नेपाली नागरिक पनि नेपाल फर्कने क्रममा छन्। उनका अनुसार स्वदेश फर्कनेमध्ये सिन्धुपाल्चोक र नुवाकोटका साथै ठूलो संख्या रसुवाका नागरिकको रहेको चिनियाँ पक्षले जानकारी गराएको छ।

तीन बसमार्फत गन्तव्यतर्फ पठाइयो
चीनबाट फर्किएका नेपालीलाई काठमाडौं तथा सम्बन्धित जिल्लामा रहेको घरसम्म पुर्‍याउन स्थानीय तहले समेत सहजीकरण गरेको छ।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठको समन्वयमा उनीहरूको आवागमनका लागि तीनवटा बसको व्यवस्था गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई बसमार्फत काठमाडौं तथा आ–आफ्नो गन्तव्यतर्फ पठाइएको हो।

बाढीका कारण स्थलमार्गमा आएको अवरोधपछि चीनतर्फ रोकिएका नेपालीहरू केरुङ क्षेत्रबाट सडकमार्ग हुँदै तातोपानी नाकासम्म आइपुगेका हुन्।

पर्यटक आवतजावत खुला, व्यापारिक गतिविधि बन्द
तातोपानी नाका हुँदै पर्यटकको आवतजावत भने सञ्चालनमै रहेको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन प्रमुख तिमल्सिनाका अनुसार पर्यटकका लागि नाका खुला भए पनि व्यापारिक तथा भन्सारसम्बन्धी गतिविधि भने अझै सञ्चालनमा आउन सकेको छैन।

चिनियाँ पक्षबाट स्वदेश फर्काइएका नेपालीको प्रवेश तथा व्यवस्थापनमा तातोपानीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) र अध्यागमन कार्यालयले समन्वय गरेका थिए।

बाढीपछि चीनतर्फ रोकिएका बाँकी नेपालीलाई पनि क्रमशः नेपाल ल्याउने प्रक्रिया अघि बढिरहेको प्रशासनले जनाएको छ।