
काठमाडौं । नेपाली जनसम्पर्क समिति जापानले रसुवामा आएको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि सहयोग रकम सङ्कलन गरी नेपाल पठाएको छ।
‘मातृभूमिमा सङ्कट पर्दा प्रवासबाट सहयोगको हात’ फैलाउने उद्देश्यले समितिले सञ्चालन गरेको आर्थिक संकलन अभियानमार्फत उक्त रकम जुटाइएको हो ।
समितिका कोषाध्यक्ष यम कँडेलको संयोजकत्वमा सञ्चालित यस अभियानमा जापानमा रहेका समितिका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, नेपाली कांग्रेसमा आबद्ध नेता(कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वतःस्फूर्त रूपमा आर्थिक योगदान गरेका थिए । संकलित १० लाख सिटी एक्सप्रेसमार्फत नेपाल पठाइएको र उक्त रकम ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मा जम्मा भइसकेको समितिले जनाएको छ ।
नेपाली जनसम्पर्क समिति जापानका अनुसार उक्त रकम पार्टीको केन्द्रीय निर्णय र प्रक्रियाबमोजिम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा हस्तान्तरण गरिनेछ । यस सहयोगलाई भोटेकोशी लगायतका प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा खर्च गरिनेछ ।
सहयोग हस्तान्तरणका क्रममा समितिका सभापति राजेन्द्र प्रसाद जमरकट्टेलले नेपालमा आइपरेको यो महाविपत्तिमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘भोटेकोशी लगायत मुलुकका विभिन्न भागमा बाढीपहिरोले पुर्याएको क्षति निकै मर्मस्पर्शी छ । यस्तो कठिन घडीमा आफ्ना नागरिकको दुःखमा साथ दिनु हाम्रो परम मानवीय कर्तव्य हो ।’
जमरकट्टेलले जापानमा रहेका अन्य सामाजिक संघ(संस्था, व्यवसायी र आम नेपालीलाई पनि आफ्नो क्षमताअनुसार सहयोगमा जुट्न आह्वान गरेका छन् । ‘हाम्रो एउटा सानो सहयोगले कसैको जीवन जोगिन सक्छ र कसैको भत्किएको घर पुनः ठडिन सक्छ,’ उनले थपे ।
समितिले यस मानवीय अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि नेपालमा आइपर्ने विपत्तिमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ । समितिका महामन्त्रीद्वय विराट खनाल र अशोक शर्मा (गोपाल) द्वारा जारी विज्ञप्तिमा दिवङ्गतप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।









Facebook Comments