विराटनगर । अस्पतालको नाम लेखिएको गाडी प्रयोग गरेर गाँजा तस्करी गर्ने प्रयास भएको खुलेको छ। विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले मंगलबार राति करिब ६० किलो गाँजा बरामद गरेको हो।

नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको को १ च ६६२० नम्बरको भ्यानमा ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको थियो। सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाको टोलीले राति करिब ११ बजे शंकास्पद रूपमा देखिएको उक्त गाडी रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

ad

गाडीको खानतलासी गर्दा दुईवटा बोरामा राखिएको अवस्थामा ६० किलो गाँजा भेटिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए। बरामद गाडी र गाँजा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाइएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बरामद गाडी वास्तवमै सम्बन्धित अस्पतालको स्वामित्वमा रहेको हो वा होइन भन्ने अझै पुष्टि भइसकेको छैन। गाडीधनी, चालक तथा गाडी कसले र कति समयदेखि प्रयोग गर्दै आएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

विराटनगरमा अस्पताल तथा एम्बुलेन्सको आवरणमा लागुऔषध ओसारपसार भएको यो पहिलो घटना भने होइन। यसअघि पनि नेपाली नम्बर प्लेटका एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारका घटनामा सुरक्षाकर्मीले कारबाही गरेका छन्।

अस्पतालको नाम लेखिएका सवारीसाधनलाई बिरामी ओसारपसारमा प्रयोग हुने भएकाले सुरक्षाजाँचमा सहजता हुने अनुमानमा तस्करीका लागि त्यस्ता गाडी प्रयोग गरिएको हुनसक्ने सुरक्षा निकायको आशंका छ।

विराटनगरका आँखा अस्पतालहरूले भारतको जोगबनी रेल्वे स्टेसन तथा बसपार्कबाट उपचारका लागि आउने भारतीय बिरामीलाई लिन अस्पतालको नाम लेखिएका सवारीसाधन पठाउने गरेका छन्। यही अभ्यासलाई तस्करीमा दुरुपयोग गरिएको हुनसक्ने अनुसन्धानमा आशंका गरिएको छ।

यसैबीच, दिव्य ज्योति अस्पताल प्रशासनले भने गाँजासहित बरामद भएको गाडी आफ्नो नरहेको दाबी गरेको छ। अस्पतालले पत्रकार सम्मेलनमार्फत उक्त गाडीसँग आफ्नो संस्थाको सम्बन्ध नरहेको स्पष्ट पारेको हो।

घटनाबारे प्रहरीले गाडीको वास्तविक स्वामित्व र गाँजा ओसारपसारमा संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास गरिरहेको जनाएको छ।