
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले गरेको ढिलाइ अमानवीय र गम्भीर भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकको आजको बैठकलाई सम्बोधन गर्दै उनले सुरूङ उद्धारमा घटना भएको पहिलो ७२ घण्टालाई ‘गोल्डेन आवर’ मानिन्छ यसबीच उद्धार गर्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ तर, निजी र अन्तराष्ट्रिय सहयोग लिन ढिलाइ गर्दा थप क्षतिको जोखिममा थकेल्ने काम भएको बताए ।
उनले विपदमा सरकार सरकारको साथमा रहने भए पनि सरकारले समन्वय गर्न नसकेको र उद्धारमा गम्भीर नभएको आरोप समेत लगाए । उनले सरकार फेसबुकमा अल्झिएको भन्दै समन्वय गरेर र सबैको साथ लिएर काम गर्न नसकेको बताए ।
सुरुदेखि नै सरकारी, निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टिमसहित उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘जब बाढी आएर सुरुङमा इन्जिनियर, प्राविधिक, श्रमिक फसे भन्ने समाचार आयो सञ्जालमा आएको एउटा तस्वीर यहाँ स्मरण गराउन चाहन्छु, देशको एक जना मन्त्री टनेलको बाहिर जानुभयो रातदिन खट्नुभयो, माटो आफै खोस्रनुभयो। फोटो जुम गरेर हेरें, पसिना पनि देखे। सबैले वाह मन्त्री पनि भने।’ त्यस क्षणपछि आफूलाई एउटा प्रश्नले घोचिरहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘त्यो सुरूङभित्र मन्त्रीको कोही परिवार वा आफन्तको सदस्य कोही भएको भए मन्त्रीजीले प्राविधिक विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो की मन्त्रीले माटो खोस्रेको फोटो भिडियो वाह मन्त्रीज्यू भन्न ? जसको परिवार त्यहाँभित्र छैन उसलाई त्यो फोटोमा वाह को प्रचार ! आउँछ तर जसको सदस्य फसेको छ उसलाई त आफ्न्तको प्राणको चासो छ नि !’








Facebook Comments