
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले यतिबेला शरिर थकित भयो भनेर विश्राम लिने छुट नरहेको बताए । उनले मन भक्कान्दिा पनि एक आपसमा सेयर गर्ने समय नरहेको पनि बताए ।
देशको नेतृत्वले आँसु होइन,जनतालाई आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरेको उनले बताए। यसैले दृढ संकल्पका साथ यो विपत्तिसँग लड्नुको अर्को विकल्प हामीसँग छैन। हामी लडिरहेका छौँ, प्रधानमन्त्री शाहले भने।
उनले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गरे । आफ्ना सपनाहरू बुनिरहनुभएका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताउँदै उनले यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गरे । साथै उनले आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति समवेदना प्रकट गरे ।
प्रधानमन्त्री शाहले घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गरे ।
प्रधानमन्त्री शाहले नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गरेको जानकारी दिए । उनका अनुसार राहत कोषमा बुधबारसम्म रु सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ । जसमध्ये हिजोमात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु एक अर्ब निकासा गरिएको थियो । त्यसमध्येबाट रु छ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको छ ।
उक्त कोषमा हाल रु छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।








Facebook Comments